
कोशीको बजेटमा नारा नै नारा सांसदलाई दुई करोड ५० लाख बजेट
पछिल्लोपटक संघ सरकारले नारा हटाउँदै गएका वेला कोशीले नारा नै नारा समेटेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले आइतबार प्रदेश सभामा ल्याएको बजेटमा एक दर्जनभन्दा बढी नारा समेटिएको कार्यक्रम समेटिएका छन् । बजेटले ‘समृद्ध नेपाल सुखी नेपाली’, ‘स्वच्छ सुखी र समुन्नत कोशी प्रदेश’, ‘स्वस्थ माटो, स्वच्छ बाली, कृषक सबैभन्दा अगाडि’, ‘एक निर्वाचन क्षेत्र, एक विशिष्ट उद्यम’, ‘प्रदेशको समृद्धिका लागि वन’, ‘संरक्षित जलाधार, समृद्धिको आधार’, ‘कोशीको गौरव, हिमालको सान’, ‘पर्यटन वर्षमा सबैलाई सम्मान’, ‘कोशी प्रदेशको सान, ज्येष्ठ नागरिकको सम्मान’, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’, ‘एक घर, एक धारा’ र ‘प्रदेशको रहर, स्वच्छ सहर’ समेटिएको छ ।
कोशीले प्रत्यक्षतर्फका सांसदलाई दुई करोड ५० लाख र समानुपातिकतर्फ एक करोड ५० लाख अप्रत्यक्ष रूपमा योजना दिइएको छ । कोशीले अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यातमा प्रतिकेजी एक सय २० रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । बजेटमा पर्यटन वर्षमा हिमाली क्षेत्रका होटेल, लजलाई करछुट दिइएको छ ।
भौतिक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य मधेशको प्राथमिकतामा
मधेश प्रदेशले भौतिक पूर्वाधार, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात क्षेत्रलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री सुनीलकुमार यादवले आइतबार सार्वजनिक गरेको मधेशको बजेटमा एक निर्वाचन क्षेत्र एक सडक र एक निर्वाचन एक पक्की पुल तथा २१ पालिकालाई पक्की सडकसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै, मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम, प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि स्वास्थ्य उपकरण जडान, सर्लाहीको धनकौलमा ५० शड्ढयाको आमा तथा बालबालिका अस्पताल निर्माणका लागि बजेट छुट्याइएको छ । लगानी समेलनको घोषणा, युरिया मल कारखानाको अध्ययन, जानकी मन्दिरलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने बजेटमा उल्लेख छ । हरित प्रदेश अभियान तथा एक व्यतिm एक बिरुवा कार्यक्रमलाई जोड दिइएको छ । किसानका बारी स्वयंसेविकाको छहारी कार्यक्रमअन्तर्गत प्रत्येक वडामा महिला कृषि स्वयंसेविका राखिने भएको छ ।
बागमतीको बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता
बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । भौतिक पूर्वाधार, कृषि, पर्यटनलाई प्राथमिकता दिइएको बजेटमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम, एक प्रदेश सभा निर्वाचन क्षेत्र एक प्रांगारिक मल उत्पादन कारखाना, कृषि ज्ञानरत्न प्रवद्र्धन कार्यक्रमलगायतलाई निरन्तरता दिइएको छ ।
बजेटले बागमती प्रदेशको देशको प्रमुख पर्यटकीय गन्तव्य र चितवनलाई पर्यटकीय हब बनाउने घोषणा गरेको छ । प्रदेशका सात हजारभन्दा कम उचाइका हिमाल आरोहणलाई प्रवद्र्धन गरिने, ६ हजार मिटरसम्मका हिमालमा ट्रेकिङ पिकका रूपमा विकास गरिने कार्यक्रम ल्याइएको छ । एक स्थानीय तह एक प्रमुख उद्योग कार्यक्रम तथा एक वडा एक उद्यम कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेशका सबै जिल्लामा वन पैदावर आपूर्ति समिति गठन गरी डिपोमार्फत काठ उपलब्ध गराइनेछ । एक स्वास्थ्य संस्था एक ग्रामीण अल्ट्रासाउन्ड, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, एक स्थानीय तह–एक नमुना स्वास्थ्य सस्था, सबै विद्यालयमा नर्स तथा १२ प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा उपलब्ध गराइएको छ ।
कृषि र पर्यटन गण्डकीको प्राथमिकतामा
गण्डकीका आर्थिक मामिलामन्त्री डा. टंकराज गुरुङले आइतबार सार्वजनिक गरेको बजेटमा ‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’को सोचलाई प्राथमिकता दिएको बताएका छन् । दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको विकासको मार्गचित्र पूरा गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागितामार्फत लगानी प्रवद्र्धनमा जोड दिएर बजेट तर्जुमा गरिएको गुरुङले बताए । पर्यटन, उद्यमशीलता र औद्योगिक विकासलाई बजेटले प्राथमिकता दिएको छ ।
साइक्लिङमार्फत पर्यटन प्रवद्र्धन गर्न मुस्ताङको जोमसोम, तनहुँको बन्दीपुर र पोखरामा लेक टु लेक साइक्लिङ मार्ग निर्माण, ‘राउन्ड फेवा भ्यु फेवा’ कार्यक्रम घोषणा गरिएको छ । त्यस्तै, हिमाल आरोहण गर्ने प्रदेशवासीलाई प्रोत्साहन तथा सम्मान, ‘प्रदेशको उत्पादन ः प्रदेशको पहिचान’ भनिएको छ । निजी जग्गामा खेती विकास र विस्तार, खेतीयोग्य बाँझो र खाली रहेको निजी तथा सार्वजनिक जग्गाको उपयोग गरी नमुना कृषि वन कार्यक्रम प्रवद्र्धन गर्ने घोषणा गरिएको छ । ‘बिग र लिड’ विद्यालय तथा आवासीय विद्यालय विस्तार गर्ने कार्यक्रमसहित शिक्षा र सामाजिक सुरक्षामा बजेट विनियोजन गरिएको छ । गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत प्राविधिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम अघि बढाउने भनिएको छ ।
लुम्बिनीमा ‘ब्याक टु नेचर र ब्याक टु कल्चर’ कार्यक्रम
लुम्बिनी प्रदेश सरकारले संस्कृतिको पुस्तान्तरण तथा प्राकृतिक जीवनशैलीको अनुसरण गर्न ‘ब्याक टु नेचर र ब्याक टु कल्चर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले आइतबार प्रदेश सभामा सार्वजनिक आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरका हुन् । बजेटमा ‘घरदैलोमा प्राविधिक सेवा, व्यावसायिक कृषिजन्य उत्पादनमा टेवा’ भन्ने मान्यतालाई आत्मसात् गर्दै कम्तीमा १५ सय व्यावसायिक कृषकका फार्ममा घुम्ती सेवा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । लुम्बिनी विकास प्राधिकरणको गठन गर्ने, ‘लुम्बिनीमा पाइला टेक’ भन्ने नाराका साथ लुम्बिनी बौद्ध अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्ने, ‘तराईमा रमाउने, पहाडमा घमाउने र हिमाल चढाउने’ कार्यक्रम राखिएका छन् ।
कर्णाली प्रदेशलाई दुध र मासुमा आत्मनिर्भर बनाइने
कर्णाली प्रदेशमा स्याउ खेतीको विकास गर्न स्याउ विकास बोर्ड गठन गरिने भएको छ । आइतबार मध्यरातमा कर्णालीका आर्थिक मामिलामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै निर्यातयोग्य कृषि उत्पादन प्रवद्र्धनलाई प्राथमिकता दिइने बताएका हुन् । कर्णाली प्रदेशलाई दुध र मासुमा आत्मनिर्भर बनाइने तथा तरल नाइट्रोजन उत्पादन कार्यक्रम ल्याइने उनले बताए ।
प्रदेशका सबै किसानलाई बिमाको दायरामा ल्याउन एक स्थानीय तह एक बिमक कार्यक्रमको व्यवस्था गरिएको छ । प्रदेशमा निजी क्षेत्रको लगानी आकर्षित गर्न कर्णाली लगानी फन्डको स्थापना गरिने बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्ष कर्णाली लगानी सम्मेलनको आयोजना गर्ने मन्त्री शाहले बताए । बजार अनुगमन प्रणालीलाई सुदृढ गरिनेछ । संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली भन्ने नाराका साथ पर्यटक संख्या, बसाइ अवधि बढाउन स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ । जिल्लाका भूकम्प प्रभावित क्षेत्रका युवालाई लक्षित गरी उद्यम गर्ने युवालाई ब्याज कर्जामा सहुलियत प्रदान गरिनेछ ।
सुदूरपश्चिममा सांसदलाई तीन करोडदेखि पाँच करोडसम्म बजेट
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रत्यक्ष निर्वाचित प्रदेश सांसदका पाँच करोड र समानुपातिक सांसदका तीन करोड रुपैयाँबराबरको योजना समावेश गरेर आगामी आवको बजेट सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरिएको बजेटमा प्रदेश गौरवका सडक र बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न चालू आवको दायित्वलाई समेत मध्यनजर गर्दै उच्च प्राथमिकता दिइएको मन्त्री थापाले बताए ।
प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा एक–एकवटा माध्यमिक विद्यालयलाई प्रदेश नमुना विद्यालयका रूपमा विकास गर्ने, प्रत्येक जिल्लामा एउटा नमुना क्याम्पस विकास गरिने जनाइएको छ । त्यस्तै, डडेलधुराको जोगबुडा र लम्की अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने घोषणा सरकारले गरेको छ ।
कृषितर्फ एक स्थानीय तह दुई उत्पादन अभियान सञ्चालन गरिने भएको छ । त्यसका लागि कृषि, पशु र मत्स्यका एक सय ७६ वटा व्यावसायिक पकेट क्षेत्र निर्माण गरिने भएको छ । कैलालीमा एम्बुलेन्ससहितको भेटरिनरी सेवा सुरु गरिने भएको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले सुरु गरिएको भीमदत्त पन्त कृषि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।