१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
तस्बिर: अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
२o८२ असार २ सोमबार o६:११:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सभामुख घिमिरेले पेलेरै चलाए संसद्

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o६:११:oo

भिजिट भिसाको आवरणमा भएको मानव तस्करी प्रकरणको समग्र छानबिनका लागि उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधबिच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक जबर्जस्ती चलाएका छन् । झन्डै सवा तीन घण्टा रास्वपाले वेलमा नाराबाजी र सभामुखले ‘दादागिरी’ देखाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरे पनि सभामुखले सदनमा बजेटमाथि छलफल गराएका छन् । संघीय निजामती विधेयकसमेत पेस भएको छ । 

रास्वपा र राप्रपाको अवरोधबिच शुक्रबार मार्सल लगाएर सवा घण्टा बैठक चलाएका सभामुख घिमिरेले आइतबार सवा तीन घण्टा प्रतिनिधिसभा चलाउँदै बैठक कार्यसूचीमा अगाडि बढाएका हुन् । सदनमा एकजना उभिए पनि अवरोध मानिने संसदीय अभ्यास छ । यस्तोमा सभामुखले सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने र सम्बोधन नहुँदासम्म स्थगित गर्ने प्रचलित अभ्यास छ । तर, सभामुख घिमिरेले सत्तापक्षको चाहनाअनुसार विपक्षी अवरोधबिच सदन अगाडि बढाएका हुन् ।
शुक्रबार सवा घण्टा चलेको बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेको रास्वपाले आइतबार पनि भिजिट भिसा ठगीमा उच्चस्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामा माग्दै सवा तीन घण्टा वेल घेराउ गरेको छ । आइतबार ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक १२ बजेर ५० मिनेटमा सुरु भएको थियो ।

बैठकको सुरुवातमा रास्वपा र राप्रपा सांसदले उठेर समय मागेका थिए । तर, सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई आकस्मिक समय दिए । यसको विरोधमा रास्वपा सांसद वेलतर्फ अगाडि बढे । वेल घेराउ गर्दै नाराबाजी सुरु गरे । ‘गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई कारबाही गर, उच्चस्तरीय छानबिन समिति गठन गर, नेपाली जनता के भन्छ समिति ले भन्छ, नेपाली बेच्न पाइँदैन’जस्ता नारा लगाउन सुरु गरे । 

कांग्रेस प्रमुख सचेतक बोलिसकेपछि सभामुखले एमालेका योगेश भट्टराई, माओवादीका देवेन्द्र पौडेल, लोसपाका रामप्रकाश चौधरी, कांग्रेसकी नागिना यादव, एमालेका ठाकुर गैरे, एकीकृत समाजवादीका किसान श्रेष्ठलाई आकस्मिक समयमा बोल्न दिए । शून्य समय चलाएनन् । 

त्यसपछि सभामुख घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै उपप्रधान तथा अर्थमन्त्री पौडेललाई आगामी बजेटमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिए । सभामुखले जबर्जस्ती बैठकलाई कार्यसूचीमा लगेपछि वेलमा नाराबाजी गरिरहेका रास्वपा सांसदले अर्थमन्त्री पौडेल रोस्टममा जाँदै गर्दा रोक्ने प्रयास गरेका थिए । अर्थमन्त्री रोस्टममा गएर प्रस्ताव प्रस्तुत गर्न थाले, रास्वपाका सांसदले वेलबाट नाराबाजी गरिरहे । 

अर्थमन्त्रीले प्रस्तुत गरेपछि बजेटमाथि छलफल प्रारम्भ भयो । कांग्रेसका प्रकाशशरण महत, एमालेका भीम आचार्य, माओवादीका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, जसपाका वीरेन्द्र महतो, नागरिक उन्मुक्तिका गंगाराम चौधरी, आजपाका प्रभु साहले छलफलमा भाग लिइरहँदा रास्वपा सांसदले वेलमार्फत नाराबाजी गरिरहे । बिचबिचमा रास्वपा सांसद वेलमै पलेँटी कसेर बसेका थिए । 

बजेटमाथि आइतबार निर्धारित छलफलपछि सभामुख घिमिरेले सदनलाई अर्काे कार्यसूचीमा लगे । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई समितिको प्रतिवेदनसहित संघीय निजामती विधेयक पेस गर्न दिए । खतिवडाले विधेयक प्रस्तुत गर्दा पनि रास्वपा सांसदले निरन्तर वेलमा नाराबाजी गरेर आफ्नो अवरोध कायमै राखे । निजामती विधेयक पेस भएपछि सभामुख घिमिरेले सोमबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए, त्यसपछि मात्रै रास्वपा सांसद बैठकबाट बाहिरिए । 

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, आजपा अध्यक्ष प्रभु साह, स्वतन्त्र सांसद अमरेश सिंहले आकस्मिक समयमा विपक्षी वेल घेराउमा हुँदा सदन चलाउनु उपयुक्त नभएको भन्दै सभामुख घिमिरेको आलोचना गरेका थिए । ‘भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने मागमा साथ दिनुस् । यसरी सदन चलाउनु संसदीय अभ्यास होइन, यो दादागिरी हो, दादागिरी बन्द गर्नुस्,’ राप्रपा प्रमुख सचेतक शाहीले भने । बैठकपछि शाहीले भने, ‘अहिलेको गृहमन्त्री मिलेरै ठगी गरिएका हुन् भन्ने तथ्य प्रमाणहरू बाहिरिँदा पनि सभामुख र संसद् स्वयं आज बिचौलियाको पक्षमा उभिएपछि हामीले बाहिष्कार गर्‍यौँ ।’ 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै गर्दा एकीकृत समाजवादीमा उपाध्यक्ष राजेन्द्र पाण्डेले उठेर नियमापत्ति गरेका थिए । नियमापत्ति गरेपछि सभामुख घिमिरेले अर्थमन्त्री पौडेललाई रोकेर पाण्डेलाई समय दिएका थिए । ‘मन्त्रीले बजेटसम्बन्धी महत्वपूर्ण कुरा सुनाइरहँदा एउटा प्रतिपक्षी दल अवरोधमा छ । नाराबाजीमा छ । यो नाराबाजीको अवस्थामा मन्त्रीज्यूले भनेको कुरा हामी सुनिराखेका छैनौँ । अनि कसरी यो सभा चलाउने हो ?’ उनले प्रश्न गरे, ‘अहिलेको यो सभा चलाउने तरिका भएन सभामुखज्यू । यो स्थगित गरेर, सहमति गरेर एउटा टुंगो गरेर मात्र अगाडि बढाइयोस् ।’ तर, सभामुख घिमिरेले सुनेनन् । मन्त्री पौडेललाई अगाडि बढ्न निर्देशन दिए । 

अवरोधबिच सदन चलाएको भनेर आमजनता पार्टीका अध्यक्ष प्रभु साहले प्रश्न उठाउँदा सभामुख घिमिरेसँग सवाल–जवाफ चलेको छ । ‘सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ । तर, आज सभामुखको यो व्यवहार हेर्दा दुःखी छु,’ उनले भने । दुईतिहाइको सरकार बनेदेखि जनताले दुःख पाइरहेको र देशै बर्बाद हुन लागेको भन्दै उनले सरकारको आलोचनामा बोल्दै गर्दा सभामुख घिमिरेले ‘के विषयमा बोलिरहनुभएको छ’ भनेर प्रश्न गरे । साहले ‘छलफलका लागि वातावरण नै छैन, मैले के गर्ने त ?’ भनेर प्रतिप्रश्न गरे । सभामुखले ‘विषयमा केन्द्रित भएर बोल्नका लागि निर्देश गर्दछु’ भने । 

माओवादी उपमहासचिव वर्षमान पुनले सभामुख देवराज घिमिरेलाई अभिभावकीय भूमिका देखाएर रास्वपासँग संवाद गर्न अनुरोध गरेका छन् । ‘तेस्रो दललाई ल्याइहाल्यौ, चौथो दल कमजोर भयो, यही वेला अलिअलि राजनीतिक रूपले दबाब बनाऊँ, विगतका सानातिना कुरा छन् भने प्रतिशोध पनि अलिअलि देखाइहालौँ भन्नेजस्तो सत्तापक्षले गर्न मिल्दैन । जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘सभामुख महोदय सदनको अभिभावक हुनुहुन्छ, एक खालको संवादका लागि अझै वातावरण बनाउनुस्, उहाँहरूलाई पनि छलफलमा ल्याउने, बजेटमा धारणा राख्ने वातावरण बनाउनुस् ।’

बैठकमा कांग्रेस सांसदहरू गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठाइरहेको रास्वपाप्रति आक्रामक देखिएका छन् । कांग्रेस सांसद नागिना यादवले सहकारी, नागरिकता, पासपोर्ट काण्डमा परेको रवि लामिछानेलाई पदमा राखेर रास्वपाले अरूलाई नैतिकताको पाठ पढाउनु हास्यापद भएको बताइन् । ‘कान्डैकान्डले भरिएका यस्ता गनाउने व्यक्तिको नेतृत्वमा बस्ने यी सांसदहरूले नैतिकताको पाठ पढाउन खोज्ने ?’ उनले प्रश्न गरिन्, ‘आफूलाई गनाउने ठिक, अरूको बासना पनि सुँघ्न नसक्ने ?’ यस्तै, आकस्मिक समयमा प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै रास्वपामाथि नै नैतिकताको प्रश्न उठाए । 

पूर्वमहासचिव सूर्यकिरण गुरुङ भन्छन्– विपक्षीको विरोधबिच बिजनेसमा लैजानु गलत हुन्छ
संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङले अरू देश र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा विपक्षीको उपस्थिति नभईकन हाउस नचल्ने बताए । विपक्षीले अवरोध गर्दागर्दै जबर्जस्ती चलाउनु राम्रो परम्परा नभएको उनको भनाइ छ । ‘सभामुख भनेको सबै सांसदको सभामुख हो । सत्तापक्षको मात्र होइन,’ उनले भने । सरकार आफ्नो भइसकेपछि पेलेरै काम लिन्छु भन्नु सत्तापक्षको गलत सोचाइ भएको उनी बताउँछन् ।

रवि लामिछानेको हकमा संसदीय समिति गठन भएको र रास्वपाले पनि मानेको उल्लेख गर्दै अहिले पनि समिति गठन गर्नु उचित हुने उनले बताए । ‘भिजिट भिसामा समिति गठन गर्न के आपत्ति थियो र ? यत्रो ठुलो मानव तस्करीको आरोप लागिराखेको छ, एउटा निकास निकाल्नतिर लाग्नुपर्छ,’ उनले भने, ‘सत्तापक्षले सरकार हाम्रो छ, पेलेर जे पनि गर्छाैँ भन्ने र सभामुखले पनि सत्तापक्षलाई साथ दिँदा राम्रो हुन्न । प्रतिपक्षीले पनि सांकेतिकभन्दा महिनौँ लगातार अवरोध गरिराख्ने तरिका ठिक भएन । समग्रमा जे भइरहेको छ, त्यो गलत छ ।’

 कांग्रेस सांसदले ‘असंसदीय शब्द’प्रयोग गर्दा सभामुख मूकदर्शक बनेको भन्दै रास्वपाको आपत्ति कांग्रेस सांसदले ‘असंसदीय शब्द’ 
प्रयोग गर्दा सभामुख देवराज घिमिरे मूकदर्शक बनेको भन्दै संसद्को चौथो दल रास्वपाले उनको भूमिकामाथि प्रश्न उठाएको छ । सांसद शिशिर खनालले सत्तापक्षले असंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख मौन रहनु दुर्भाग्य भएको बताए । 

‘माननीय सदस्यले हाम्रो सभापतिलाई जोडेर जुन शब्दावली प्रयोग गर्नुभयो, त्यो दुर्भाग्यपूर्ण छ । त्योभन्दा बढी दुर्भाग्य सभामुखको आसनबाट इन्टरभेन्सन नहुनु छ,’ उनले भने, ‘एक त त्यो असंसदीय शब्द थियो, त्यसमाथि माननीय आकस्मिक विषयमा बोलिराख्नुभएको थिएन । उहाँहरूले पार्टी सभापतिका पुराना विषय जोडेर टिप्पणी गर्नुभयो ।’ 

कांग्रेस सांसद नागिना यादवले कान्डैकान्डले गनाएको नेतृत्वमा बस्ने सांसदहरूले नैतिकता सिकाउने भनेर ‘असंसदीय शब्द’ प्रयोग गरेकी थिइन् । ‘रेफ्रीको भूमिकामा रहेको सभामुखले त्यसलाई नसच्याउनु दुर्भाग्यपूर्ण छ । असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्छ । माननीय सांसदले मर्यादा राख्नुपर्छ,’ उनले भने । 

सांसद खनालले भिजिट भिसाको जालो तोड्न उच्चस्तरीय छानबिन समिति माग्दा संख्याको दम्भमा जबर्जस्ती पेल्ने प्रयास गर्नुले सत्तापक्ष जनताको मुद्दाबाट विमुख रहेको देखाएको टिप्पणी गरे । ‘सरकार संवादमा आओस्, प्रमुख प्रतिपक्षीको साथ पाइयो भन्दैमा अर्काे प्रतिपक्षी दललाई चेपुवामा पार्ने र होच्याउनु लोकतन्त्रमा राम्रो देखिँदैन,’ उनले भने ।