१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
२o८२ असार १ आइतबार २o:१४:oo
Read Time : < 1 मिनेट
समाचार

फाइनान्स लुटपाटमा संलग्न महतो दुई वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १ आइतबार २o:१४:oo

सिराहाको धनगढीमाई नगरपालिका–११, छपराढीस्थित गोर्खाज फाइनान्स लिमिटेड लुटपाटमा संलग्नमध्ये प्रहरीले करिब दुई वर्षपछि एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका–२० घर भएका करिब ४५ वर्षीय श्रीदेव महतो रहेका छन्। 

महतोलाई शनिबार राति लुकीछिपी बसिरहेको अवस्थामा बरियारपट्टी गाउँपालिका–३, चमार टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार पक्राउ गरिएका महतोलाई आइतबार सिराहा जिल्ला अदालतमा पेस गरिएको छ। 

फाइनान्समा १४ चैत ०७९ को राति भएको चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराधसम्बन्धी मुद्दाका फरार प्रतिवादी महतोलाई अनुसन्धानसहित खोजतलास गर्ने क्रममा पक्राउ गरी अदालतमा पेस गरिएको उनले बताए। 

यस्तो थियो घटना 
प्रहरीका अनुसार महतोसहित पेस्तोल तथा धारिलो हातहतियार बोकेका अपरिचित व्यक्तिको समूहले फाइनान्सको तल्लो तलामा बस्ने कर्मचारीहरूलाई तर्साएर लुटपाट गरेका थिए। राति करिब सवा १२ बजेतिर कर्मचारीहरूलाई हतियार देखाउँदै कुटपिट गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार त्यसपछि उक्त समूहले ज्यान मार्ने धम्की देखाई नशालु इन्जेक्सन लगाएर सबैजनालाई बन्धक बनाई नियन्त्रणमा लिएसँगै फाइनान्स सञ्चालन गरिएको भवनको माथिल्लो तलाको झ्याल तथा ग्रिल फुटाएर नगद दुई लाख ५७ हजार दुई सय २९ रुपैयाँ लुटपाट गरेको थियो।

उक्त समूहले लुटपाट गर्ने क्रममा कर्मचारीहरूसँग रहेको विभिन्न कम्पनीको तीन थान मोबाइल, फाइनान्सका जिन्सी सामानहरू तोडफोडसमेत गरी १० लाख २८ हजार सात सय १४ रुपैयाँबराबरको सम्पत्ति डाँका तथा तोडफोड गरेको जनाइएको छ।