
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभा बैठकमार्फत आइतबार बजेट सार्वजनिक गरेका हुन्।
चालू आर्थिक वर्षकोभन्दा आगामी आर्थिक वर्षको बजेट एक अर्ब ८५ लाख ७६ हजार कम छ। चालू आवको गण्डकी बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रहेको छ।
बजेटमा चालूतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात् कुल बजेटको ३९.५ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कुल बजेटको ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात् कुल बजेटको ०.८ प्रतिशत विनियोजन गरिएको छ।
चालू आवको गण्डकीको कुल बजेटमध्ये पुँजीगततर्फ ५९.१९ प्रतिशत अर्थात् १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार, चालूतर्फ ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ ०.९० प्रतिशत अर्थात् ३० करोड विनियोजन गरिएको छ।
एक अर्ब ७५ करोड आन्तरिक ॠण उठाउने
सार्वजनिक बजेट कार्यान्वयन गर्न गण्डकीले एक अर्ब ७५ करोड आन्तरिक ऋण उठाउने घोषणा गरेको छ। बजेटमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, ससर्त अनुदान तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख र विशेष अनुदान ४९ करोड ८६ लाख, प्रदेशको राजस्व परिचालनबाट पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने र चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान गण्डकीले गरेको छ। सार्वजनिक बजेट कार्यान्वयनमा न्यून हुने एक अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको मन्त्री गुरुङले जानकारी दिए।
‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’को सोचका साथ दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको विकासको मार्गचित्र पूरा गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना, प्रदेशवासीको हित अभिवृद्धि तथा प्रदेशको समग्र विकासमा विशेष जोडसँगै प्रादेशिक अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्त्व दिँदै सार्वजनिक र निजी क्षेत्रको सहभागितामार्फत लगानी प्रवर्द्धनमा जोड दिई बजेट तर्जुमा गरेको मन्त्री गुरुङले जानकारी दिए।
यस्ता छन् बजेटका उद्देश्य र प्राथमिकता
बजेटका उदेश्यहरू
(क) दिगो आर्थिक वृद्धिमार्फत रोजगरी र आय वृद्धि गर्नु ।
(ख) गुणस्तरीय र आधुनिक पूर्वधार विकास गर्नु ।
(ग) आधुनिक प्रविधिमा दक्ष र उत्पादनशील मानव पुँजी निर्माण गर्नु ।
(घ) सामाजिक न्याय र समुन्नति हासिल गर्नु ।
(ङ) गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन अभिवृद्धि गर्नु रहेका छन् ।
बजेटका प्राथमिकताहरू
(क) दिगो र उत्थानशील पूर्वाधार निर्माण ।
(ख) दक्ष र प्रविधिमैत्री मानव पुँजी निर्माण ।
(ग) सामाजिक न्याय र समतामूलक समाजको स्थापना ।
(घ) सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा ।
(ङ) सन्तुलित विकास र तहगत सहकार्य ।
(च) गुणस्तरीय सेवा प्रवाह र सुशासन ।