१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
२o८२ असार १ आइतबार १९:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग

धनगढीमा पहिलोपटक सिनेमा संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १९:५२:oo

सुदूरपश्चिममा पहिलोपटक धनगढीमा सिनेमा संवाद आयोजना गरिएको छ। कार्यक्रममा नेपाली चलचित्रबारे नयाँ पुस्ताको सोचाइ, चलचित्रका विषयवस्तु, कला, संस्कृतिसँग चलचित्रको सम्बन्ध, पर्यटन प्रवर्द्धनमा चलचित्रको भूमिकालगायत विषयमा छलफल भयो।

चलचित्रमार्फत यस क्षेत्रको कला, संस्कृति र पर्यटन प्रवर्द्धन सहयोग गर्ने उद्देश्यले चलचित्र पत्रकार संघ कैलाली र जेडी एसोसिएट्सको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
संवादमा सहभागीहरूले सुदूरपश्चिम प्रदेश चलचित्रको कथावस्तु र छायांकनका लागि ‘भर्जिन’ क्षेत्र भएकोले अब यहाँका कला, संस्कृतिहरूलाई विषयवस्तु बनाएर चलचित्र निर्माण हुनुपर्नेमा जोड दिएका थिए।

सुदूरपश्चिमका पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सहभागीहरूको धारणा थियो। चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकार सहभागी कार्यक्रममा चलचित्र निर्माण, तिनको सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र चलचित्रमा समाजको सम्बन्धबारे पनि छलफल भयो।

नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदूरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका विषयमा पनि चर्चा गरिएको थियो। कार्यक्रममा बहस र संवादसँगै सुदूरपश्चिमका कला, संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए।

कार्यक्रममा नेपाली सिनेमामा नवीन पुस्ता नवीन दृष्ट्रिकोण, सिनेमामा सुदूरपश्चिम : इतिहास र संस्कृति, डोटेली भाषाका सिनेमा र संगीत तथा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमा विषयमा प्यानल छलफल गरिएको थियो।

अभिनेता पुष्प खड्का, दिव्यदेव पन्त, नायिका उपासनासिंह ठकुरी, चलचित्र निर्देशक नवल नेपाल, पहिलो डोटेली चलचित्र गौरीका निर्माता खड्गबहादुर मल्ल, थारू चलचित्र क्षेत्रका नायक प्रेम चौधरी, गीतकार हर्क साउद, देउडा गायक नरेन्द्रराज रेग्मी, कलाकार सरस्वती खड्का, पत्रकार उमिद बागचन प्यानलमा वक्ताको रूपमा रहेका थिए।