
बर्दियाको मधुवन नगरपालिका– १, पत्थरबोझी गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा बस्ने अभिभावकविहीन बालबालिकाको विद्यालयमा पुगेर स्वास्थ्य परीक्षण गरिएको छ । कन्सल्ट्यान्ट फिजिसियन डाक्टर मनोजकुमार तिमिल्सैना र उनकी पत्नी मानसिक रोग विशेषज्ञ डाक्टर नितु बस्नेतले विद्यालयमा पुगेर स्वास्थ्य परीक्षण गरेका हुन् ।
विद्यालयमा रहेको छात्रावासमा ३९ जना अभिभावकविहीन बालबालिका बस्दै आएका छन्। पालिकाले अभिभावकविहीन बालबालिकालाई बस्नका लागि भवनलगायतको संरचना निर्माण गरेको छ । तर, बस्ने कोठाको अभाव हुँदा विद्यार्थीलाई समस्या हुने गरेको छ । विद्यालयका रहेका अभिभावकविहीन बालबालिकाबारे थाहा पाएपछि तिमिल्सैनादम्पती औषधि लिएर बालबालिकाको उपचारका लागि विद्यालय पुगेका थिए ।
कन्सल्ट्यान्ट फिजिसियन तिमिल्सैनाले विद्यालयमा अभिभावकविहीन बालबालिका बस्दै आएको कुरा प्रकृति पद प्रदर्शक रामराज ढकालले बताएपछि थाहा पाएको बताए । उनले भने, ‘अभिभावकविहीन बालबालिकाबारे थाहा पाएर श्रीमतीले बताएपछि उनले पनि जाने इच्छा गरिन्, दुईजना भएर उपचार गर्न आयौँ । उपचार गर्ने क्रममा केही बालबालिकालाई थप उपचारका लागि अस्पताल लैजानु पर्ने देखिएको छ ।’
मानसिक रोग विशेषज्ञ डाक्टर नितु बस्नेतले अभिभावकविहीन बालबालिकालाई विद्यालयमा आएर उपचार गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन, ‘आज विद्यालयमा आएर स्वास्थ्य परीक्षण गर्दा अझै बिरामी सामान्य स्वास्थ्य परीक्षण गर्नबाट वञ्चित भएको पाएँ । केही बालबालिकामा भएको स्वास्थ्य समस्या अलि पुरानो पनि रहेछ । बालबालिकामा भएको स्वास्थ्य समस्या पहिचान गर्न पनि समय–समय स्वास्थ्य परीक्षण गर्नुपर्ने देखिएको छ ।’
प्रकृति पद प्रदर्शक रामराज ढकालले अभिभावकविहीन बालबालिकाबारे बताउनेबित्तिकै डाक्टर तिमिल्सैनाले विद्यालयमा गएर स्वास्थ्य जाँच गर्ने राजी भएको बताए । उनले भने, ‘सरसँग दुई दिन अगाडि मात्र चिनजान भएको हो । मैले सरलाई पत्थरबोझी गाउँमा रहेका अभिभावकविहीन बालबालिकाबारे बताएँ । उहाँले बालबालिकालाई सहयोग गर्ने इच्छा व्यक्त गर्नुभयो । सरले शनिबार विद्यालयमा गएर स्वास्थ्य परिक्षण गरौँला भन्नुभयो । र, आज सर आउनु पनि भयो । सरमा मैले सकारात्मक ऊर्जा पाए ।’
विद्यालयमा गएर स्वास्थ्य परीक्षणका लागि समय व्यवस्थापनलगायतका अन्य काममा ठाकुरबाबा नगरपालिकामा रहेको बबई रिसोर्टका गौरव योगी, विष्णु घिमिरेलगायतको टिमले समेत सहयोग गरेको थियो ।