१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
लाओसविरुद्धको खेलअघि प्रशिक्षणका क्रममा नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङ । तस्बिर सौजन्य : एन्फा
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २७ मंगलबार o७:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियन कप छनोट : लाओसविरुद्ध अपराजित रहने नेपालको लक्ष्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार o७:१४:oo

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मंगलबार एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’को दोस्रो खेलमा लाओसविरुद्ध प्रतिस्पर्धा गर्दै छ । तथ्यांकमा नेपाल लाओससँग अपराजित रहेको छ । नेपालले अहिलेसम्म लाओसविरुद्ध सातमध्ये पाँच खेलमा जित निकालेको छ । लाओसले नेपाललाई दुईपटक बराबरीमा रोकेको छ । खेल लाओसको न्यु लाओस नेसनल रंगशालामा साँझ पौने ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाल र लाओसलाई एक–आपसका रणनीति राम्रोसँग थाहा छ । नेपालको फुटबल इतिहासमा लाओस एक परिचित प्रतिद्वन्द्वी हो । नेपालले एसिया कपको तयारीस्वरूप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । ३७ वर्षपछि नेपालले फिफा वरीयतामा आफूभन्दामाथि रहेको हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपका लागि यो तेस्रो चरणको छनोट हो । एसिया कपमा स्थान पक्का गर्न यो नै अन्तिम मौकाका रूपमा सबै टोलीले लिएका छन् । समूह ‘एफ’को पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो ।

नेपालका प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले लाओसको मैदानमा जित निकाल्ने बताएका छन् । तुलनात्मक रूपमा लाओस फिफा वरीयतामा नेपालभन्दा तल्लो स्थानमा छ । तर, लाओससँग सजक भएर प्रतिस्पर्धा गर्नुपर्ने कप्तान किरणको भनाइ छ । यद्यपि, अघिल्लो खेलमा लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो ।

नौ वर्षअघि पहिलो भेट
सन् २०१६ मेमा नेपालले पहिलोपटक लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपालले १–१ को बराबरी नतिजा निकाल्यो । सोही वर्ष नोभेम्बरमा एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई २–२ को बराबरीमा रोकेको थियो । नकआउट प्रतियोतिगा भएकाले पेनाल्टी सुटमा नेपालले लाओसलाई ३–० ले हरायो ।

सन् २०२३ मार्चमा त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले लाओसलाई समूह चरणमा लाओसलाई २–० र फाइनलमा २–१ ले हराएको थियो । सन् २०२३ अक्टोबरमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरी विश्वकपको दोस्रो चरण स्थान पक्का गरेको थियो । पहिलो लेग १–१ को बराबरी भएको थियो । दोस्रो खेलमा नेपालले लाओसलाई १–० ले हरायो ।