१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
Invalid date format १२:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ मा हुँदै आएको डुबान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । 

गुरुवा गाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुबान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजनाअन्तर्गत बस्तीभन्दा पर जंगल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका– ९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए । 

‘प्रत्येक वर्ष वर्षायाममा ठुलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाई नै तटबन्धन गर्न सफल भएका छौँ,’ वडाध्यक्ष थारले भने’ ‘अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हटेको छ ।’

उनका अनुसार लुम्बिनी प्रदेश सरकारको रु. ५५ लाख बजेटमा गुरुवागाउँनजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ताखोलालाई वनक्षेत्रबाटै गरी बसन्ता खोलामा मिलाइएको छ । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत तटबन्धन गरिरहेको छ । अब तटबन्धनमा तारजाली र ढुंगा बिछ्याउने काम मात्रै बाँकी रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख आशिष विकले जानकारी दिए । 

करिब १८ मिटर अग्लो पहाडलाई कटान गरेर १८० मिटर लामो तटबन्धन गरिएको छ । विगत चार वर्षदेखि बजेट विनियोजन हुँदै आए पनि विभिन्न कारणले काम हुन नसकेकोमा यस वर्ष बाँके राष्ट्रिय निकुञ्जलगायत सरोकारवाला निकायसँगको समन्वय र सहमतिमा काम सम्पन्न गर्न सकिएको उनले जानकारी दिए । 

यो तटबन्धनपछि अब वर्षायाममा भत्ताखोला र चुकेनाला हुँदै आउने बाढी बस्तीभन्दा बाहिर बसन्ता खोला भएर बग्नेछ । तटबन्धनले राप्ती सोनारी– ९ का गुरु वागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारूगाउँ, ढकेरी र पम्पबजार डुबान तथा कटानको समस्या समाधान भएको ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले बताए। 

उनले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्दै भत्ताखोला डाइभर्सनलाई अब नियमित मर्मत तथा सम्भारमा पनि चासो देखाउनुपर्ने बताए । 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भत्ताखोलाले दिँदै आएको दुःखबाट अब जनताले छुटकारा पाएको बताए । उनले राप्ती सोनारी गाउँपालिकामा भत्ताखोलाजस्तै दर्जनौँ खहरेखोलाले गाउँबस्ती डुबानमा पर्ने समस्या समाधान गर्न आफूले पहल गरिरहेको उल्लेख गरे।