
अमेरिकाबाट ‘डिपोर्ट’ भएका ३७ नेपालीलाई आइतबार काठमाडौं ल्याएर छाडिएको छ । गैरकानुनी ढंगले प्रवेश गरी बसोबास गरेको भन्दै अमेरिकी सरकारले उनीहरूलाई जहाज चार्टर गरी नेपाल फिर्ता गरेको हो । आइतबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेमा ३२ पुरुष र पाँच महिला छन् । फिर्ता हुनेमध्ये अधिकांश ‘डंकी रुट’ प्रयोग गरी अमेरिका प्रवेश गरेकाहरू रहेको अध्यागमनका अधिकारीहरूले बताएका छन् ।
विमानस्थलमा छाडिएका उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जिम्मा लिएको छ । ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले डिपोर्टपछि नेपाल आएकालाई अभियुक्तभन्दा पनि पीडितको हैसियतले सोधपुछ हुने बताए । ‘अमेरिकाबाट डिपोर्ट भएर ३७ नेपाली विमानस्थल आइपुगेका छन् । उनीहरूलाई बुझ्न डिएसपीको कमान्डमा टोली विमानस्थल पुगेको छ । उनीहरूसँग विमानस्थलमै सोधपुछ हुनेछ । आवश्यक सूचना संकलन गरिनेछ र घर पठाइनेछ । आज सोधपुछ सकिएन भने भोलि (सोमबार) कार्यालय आउने गरी पठाइनेछ । यस क्रममा उनीहरूसँग प्रहरीले अभियुक्तभन्दा पनि ‘भिक्टिम’को ‘ट्रिट’ गर्नेछ,’ उनले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको यो दोस्रो घटना हो । यसअघि गत २० जनवरीमा नौजना नेपालीलाई डिपोर्ट गरेको थियो । त्यसयता ट्रम्प प्रशासनले साता बिराएर एक–दुईजना नेपाली डिपोर्ट गरिरहेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीदेखि मेसम्ममा १४० नेपालीलाई डिपोर्ट गरिसकेको छ । तर, डिपोर्ट भएर नेपाल आउने कसैले पनि प्रहरीमा उजुरी दिएका छैनन् ।
‘डिपोर्ट भएर नेपाल आएका सबै पीडित हुन् । उनीहरू विभिन्न प्रलोभनमा फसेर डंकी रुट हुँदै अमेरिका प्रवेश गरेको देखिन्छ । तर, उनीहरू प्रहरीमा जाहेरी दिन रुचाउँदैनन् । अहिले आएका नेपालीसँग पनि हामी सकेसम्म धेरै सूचना लिने प्रयत्न गर्नेछौँ । त्यसबाट केही रहस्य खुले अनुसन्धान प्रक्रिया अघि बढ्नेछ,’ एसएसपी पंगेनीले भने ।