
लुम्बिनी केबलकार लिमिटेड औपचारिक रूपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ । १५ जेठ ०८० देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २५ जेठ ०८० मा भएको थियो ।
बुटवल–३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा माथिल्लो स्टेसन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाखभन्दा पनि बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तीन गुनाले वृद्धि भएको छ।
आर्थिक वर्ष ०८०/८१ मा ८ प्रतिशत भारतीय पर्यटक आएकामा चालू आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैँजूले जानकारी दिए। दुई वर्षमा करिब ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशतभन्दा कम छ।
समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशसनसहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जिपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्विङ (आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेस्टुराँ, सेमिनार हललगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै वसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको छ।
२९ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद सुनार, ऋषि भण्डारीलगायतले बुटवलबाट वसन्तपुर जोड्ने गरी केबलकार सञ्चालनको परिकल्पना गरी करिब सय रोपनी जग्गा खरिद गरेका थिए।
६ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आइएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लिई सुरु गरेको दुई वर्षमै केबलकार सपना सार्थक भएको थियो। वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन्।
कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन्।
वसन्तपुरमा तराईका ठाउँभन्दा कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडोयाममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए।
अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार दुई किलोमिटर ६ सय मिटर लामो छ। २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ।