१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
Invalid date format २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार

बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु  

करेन्ट लागेर चार वर्षमा ३७ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४२:oo

बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजंग शाह र  गुलरिया नगरपालिका–१२ भैसाहीका २१ वर्षीय वीरेन्द्र थारूको करेन्ट लागेर आइतबार मृत्यु भएको हो।

घरनजिकै रहेको धानको बिउमा पानी सिँचाइ गर्ने क्रममा शाहलाई आइतबार बिहान ७ बजेतिर करेन्ट लागेको थियो। घाइते भएका शाहलाई उपचारका लागि तत्काल मेडिकल कलेज कोहलपुर लगिएको थियो। उपचारका क्रममा बिहान ८ बजे शाहलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

यस्तै, बढैयाताल गाउँपालिका–९ कान्तिपुरस्थित भीमबहादुर दर्जीको घर बनाउने क्रममा शनिबार पौने ४ बजे थारूलाई करेन्ट लागेको थियो। रड सिधा गर्ने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर थारू घाइते भएका थिए। घाइते थारूलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।

पछिल्लो समयमा बर्दियामा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गइरहेको  छ। करेन्ट चुहावट भएर, विद्युत् सर्ट भएर, व्यक्तिगत  असावधानीका कारणले  करेन्ट लागेर मृत्यु हुने गरेको छ। चालू आर्थिक वर्ष  ०८१/८२ को २५ जेठसम्म सातजनाको मृत्यु भएको छ। आर्थिक वर्ष ०८०/८१ मा ९ जनाको र आर्थिक वर्ष ०७९/८० मा १२ जनाको, आर्थिक वर्ष ०७८/७९ मा नौजनाको मृत्यु भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ।