
बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा भएको आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश विपत् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को आइतबार बसेको बैठकले पीडित परिवारलाई मानवीय सहायतास्वरूप ४० लाख रुपैयाँ दिने निर्णय गरेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले उक्त रकम बुढीगंगा नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिए। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तयार भएपछि थप सहयोगको निर्णय गरिने उनले बताए। मानवीय सहायतास्वरूप प्रदेश सरकारले आगलागीपीडितलाई सहयोग गर्न लागेको मुख्यमन्त्री शाहले बताए।
उक्त सहयोग सम्बन्धित पालिकाले मापदण्ड बनाएर वितरण गर्ने बताइएको छ। प्रदेश सरकारले १५ वटा ठुलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपालसमेत सहयोग गर्ने जनाएको छ।
गत शुक्रबार बाम्का बजारमा भएको भीषण आगलागीमा १५ वटा पसल जलेर नष्ट भएका थिए। बाम्का बजारमा रहेको नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो। आगलागीबाट करिब पौने नौ करोडको क्षति भएको प्रारम्भिक तथ्यांक छ।