
चालू आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टीतेल आयात भएको हो।
गत आवको सोही अवधिको तुलनामा चालू आवमा पाँचैथरीका पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड रकम अर्थात् ०.८६ प्रतिशतले गिरावट आएको हो।
गत आवको १० महिनाको तुलनामा चालू आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटे पनि राजस्व संकलनमा वृद्धि भएको बताए।
चालू आवको १० महिनामा पाँचथरीका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रकम राजस्व संकलन गरेको छ।
जबकि गत आवको सोही अवधिमा पाँचैथरीका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड राजस्व संकलन भएको थियो। गत आवको १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालू आवको वैशाख मसान्तसम्म ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ। गत आवको सोही अवधिमा रु. ८३ अर्ब ४७ करोड मूल्य पर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ।
कार्यालयका अनुसार चालू आवमा डिजेल आयातबापत कार्यालयले ३५ अर्ब ७० करोड राजस्व संकलन गरेको छ भने गत आवको सोही अवधिमा ३२ अर्ब ७२ करोड राजस्व संकलन गरेको थियो।
चालू आवको १० महिनामा रु. ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ। जबकि गत आवको १० महिनामा रु. ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो।
चालू आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व संकलन गरेको छ भने गत आवको सोही अवधिमा १८ अर्ब ७० करोड राजस्व संकलन गरेको थियो। यो नाका हुँदै चालू आवको १० महिनामा ३० अर्ब २८ करोड मूल्य पर्ने रु. २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ।
जबकि गत आवको सोही अवधिमा रु. २५ अर्ब १९ करोड मूल्य पर्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो।
कार्यालयले चालू आवको १० महिनामा एलपी ग्यास आयातबापत पाँच अर्ब ६७ करोड राजस्व संकलन गरेको छ भने गत आवको सोही अवधिमा एलपिजी ग्यास आयातबाट चार अर्ब ७० करोड राजस्व संकलन गरेको थियो।
वीरगन्ज नाका हुँदै चालू आवको १० महिनामा १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ। जबकि गत आवको १० सोही अवधिमा १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो।
कार्यालयले चालू आवको १० महिनामा एटिएफ आयातबापत दुई अर्ब १७ करोड राजस्व संकलन गरेको छ। जबकि गत आवको सोही अवधिमा दुई अर्ब २२ करोड राजस्व संकलन गरेको थियो। यो नाका हुँदै चालू आवको १० महिनामा ५५ करोड मूल्य पर्ने ६ हजार १३० किलोलिटर मट्टीतेल आयात भएको छ।
जबकि गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टीतेल आयात भएको थियो। कार्यालयले चालू आवको १० महिनामा मट्टीतेल आयातबाट १५ करोड राजस्व संकलन गरेकाे छ भने गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व संकलन गरेको थियो।