
राजावादीहरूले बिहीबारदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै छन् । रत्नपार्कको शान्तिवाटिकामा हुने आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह आन्दोलनमा सहभागी हुनेछन् ।
त्यसक्रममा मञ्च खडा गरेर सभा हुनेछैन । रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीहरू छातासहित उपस्थित हुनेछन् । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजी नभएसम्म आन्दोलन जारी रहने राजावादी नेताहरूले दाबी गरेका छन् ।
रत्नपार्ककेन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने नेताहरूले बताएका छन् । शीर्ष नेताहरूले स्वयंसेवकलाई बुधबार प्रशिक्षण दिएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले उनीहरूलाई प्रशिक्षण दिएका हुन् ।
आन्दोलनको अग्रभागमा शीर्ष नेताहरू रहने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । देश जोगाउन अवस्था र व्यवस्था बदल्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउँदै राजावादीले आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने दाबी गरेका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् । राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य स्थापनाका लागि सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले बिहीबारबाट जनआन्दोलनको थालनी गर्ने उनको भनाइ छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र बनाउने आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । ‘आन्दोलनको तयारी तीव्र रूपमा भइरहेको छ । देशभरबाट प्रदर्शनमा सहभागी हुन आउने क्रम जारी छ । देश बचाउने र बनाउने आन्दोलनमा सहयोग गर्न सहभागी हुन अपिल गर्दछु,’ उनले भने ।
राप्रपा नेताहरूको पिएसओ खोसियो
सरकारले राजावादी नेताहरूको व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) हटाएको छ । संविधानविरोधी गतिविधि गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा राप्रपा र राप्रपा नेपालका नेताहरूको पिएसओ हटाइएको हो ।
राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, प्रकाशचन्द्र लोहनी, दीपकबहादुर सिंह, ज्ञानबहादुर शाहीलगायतको पिएसओ हटाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार १७ जना पिएसओ तानिएको छ । गणतन्त्र दिवसमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शनको तयारी भइरहेको पूर्वसन्ध्यामा उनीहरूको पिएसओ हटाइएको हो ।
राज्यबाट सुविधा लिएर संविधानविरोधी गतिविधिमा लागेको आधारमा सुरक्षा हटाइएको एक उच्च प्रहरी अधिकारीले बताए । राप्रपाका नेताहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पिएसओ हटाइएको आरोप लगाएका छन् ।
सांसद शाहीले बुधबार संसद् परिसरमा बोल्दै राजतन्त्रको पक्षमा लागेकै आधारमा पिएसओ तानिएको भन्दै फिर्ता गर्न माग गरेका छन् । प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार नेताहरूको सुरक्षामा खटिएका पिएसओहरूलाई ब्रिफिङका लागि प्रधान कार्यालयमा झिकाइएको हो ।