
नेपाल आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको छ । एसिया छनोटअन्तर्गत सुपर– ३ को खेलमा यूएइलाई पाँच विकेटले हराएसँगै नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक उपलब्धी हात पारेको हो।
एसिया छनोटअन्तर्गत थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुगेका हुन्। नेपालसँगको हारसँगै युएई भने बाहिरिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै जित निकाल्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रनको योगदान गरिन् । यसैगरी रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाए । युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले सामना एक विकेट लिए ।
यसअघि युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाएका थिए । नेपालका लागि मनीषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए ।
अब, नेपालले सुपर ३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ । नेपाल पहिलोपटक ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।