१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ जेठ ५ सोमबार o६:३५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गेटामा खुल्यो देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको ढोका : गेटा र सेतीलाई समेटेर आगामी शैक्षिक सत्रबाट नर्सिङ र एमबिबिएस पढाइ हुने

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार o६:३५:oo

कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुनी गाँठो फुकेको छ । शिक्षामन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गरियोस् भनी आइतबार प्रतिनिधिसभामा पेस गरेको प्रस्ताव सर्वसम्मत पारित भएसँगै सुदूरपश्चिममा मेडिकल शिक्षाको औपचारिक ढोका पनि खुलेको छ ।

राष्ट्रिय सभाले ०८० मा विधेयक पारित गरिसकेको थियो, अब राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि ऐनका रूपमा लागू हुनेछ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा र सेती प्रादेशिक अस्पताललाई समेटेर सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए । ‘मेडिकल शिक्षाका लागि विश्वविद्यालय सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिसकेको छ । संसद्बाट विधेयक पनि पारित भयो,’ सचिव देवकोटाले भने, ‘अब बजेट विनियोजन गरेर आगामी सत्रदेखि नै नर्सिङ र एमबिबिएस कार्यक्रम सञ्चालन गरिनेछ ।’ हाल गेटा अस्पताल ५० र सेती ५० स्वीकृत भए पनि १२५ शड्ढयामा चलिरहेका छन् । तीन सय शड्ढयामा पुर्‍याएर पोस्ट ग्य्राजुएट पनि सञ्चालन गरिने उनले बताए ।

०८३ देखि थप तीन सयसहित ६ सय शड्ढयाको अस्पताल सञ्चालन हुनेछ । त्यहाँ मेडिकल शिक्षाको मास्टर्स तहका डाक्टर अफ मेडिसिन (एमडी) र मास्टर अफ सर्जरी (एमएस)कोर्स सञ्चालन हुनेछ । अब सरकारले उपकुलपति र अन्य पदाधिकारी नियुक्त गर्नेछ । 

पूर्वसांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिम सरकारमातहत रहेका ५० शड्ढयाका अस्पताल सेती, महाकाली र टीकापुर अस्पताललाई केन्द्र सरकारलाई हस्तान्तरण गरी हरेकलाई सय शड्ढयाका अस्पतालमा स्तरोन्नति गर्न सकिने बताए । ‘केन्द्र सरकारले आउँदो शैक्षिक सत्रबाट स्वास्थ्य विज्ञान विश्वविद्यालयको आंगिक मेडिकल कलेज बनाएर ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी र ब्याचलर इन फिजियोथेरापीको कोर्सहरू पढाउने व्यवस्था सुनिश्चित गर्नुपर्छ,’ भट्टले भने ।

सरकारले ०६६ मा गेटा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेसँगै भौतिक पूर्वाधार निर्माण थालिएकामा पछिल्लो समय मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय भनेर विवाद हुँदै आएको थियो । तर, सरकारले फेरि ०८० मा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेर विधेयक अगाडि बढाएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले १९ असोज ०८० मा राष्ट्रिय सभामा विधेयक दर्ता गराएका थिए ।

डडेल्धुरामा नर्सिङ पढाइ भइरहे पनि सुदूरपश्चिममा प्रतिष्ठानसमेत थिएन । चिकित्सा शिक्षा आयोगका अनुसार हाल देशभर २१ वटा मेडिकल कलेज, आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र १५० वटा बिएस्सी नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन अध्यापन हुने शैक्षिक संस्था छन् । सुदूरपश्चिम भने वञ्चित थियो ।

पूर्वसांसद डा. दीपकप्रकाश भट्टले अनेकौँ अवरोध र समस्या झेल्दै सुदूरपश्चिमले स्वास्थ्य जनशक्ति उत्पादन र मेडिकल सेवा प्रदान गर्ने गरी विश्वविद्यालय पाएको प्रतिक्रिया दिए । ‘लामो संघर्ष र लडाइँपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने निश्चित भएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो,’ उनले भने, ‘म प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भए पनि गेटामा निर्माणाधीन संस्था मेडिकल कलेज वा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग राख्दै तत्कालीन शिक्षा तथा स्वास्थ्य समितिमा निवेदन दिएको थिएँ, बल्ल त्यसले मूर्तता पायो ।’

नेपालमा सर्वप्रथम त्रिविअन्तर्गत इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) स्थापना भएपछि चिकित्सा शिक्षाको अध्ययन सुरु भएको थियो । तर, ५३ वर्षसम्म पनि सुदूरपश्चिम क्षेत्रमा यसको अध्ययन हुन सकेको थिए । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएसँगै अब त्यहाँ मेडिकल शिक्षाको कार्य कार्यान्वयन हुनेछ ।

मेडिकल विश्वविद्यालयसम्बन्धी विधेयक यसअघि २९ माघ ०८० मा राष्ट्रिय सभाले पारित गरेको थियो । तर, त्यहाँबाट प्रतिनिधिसभा आउन समय लाग्यो । तत्कालीन शिक्षामन्त्री अशोक राईमा पालामा विधेयक अघि बढे पनि सुमना श्रेष्ठ मन्त्री भएपछि कुलपति र सहकुलपतिको विषयलाई लिएर पेचिलो बन्यो । श्रेष्ठले कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुन नहुनेमा चासो दिएकी थिइन् । तर, अन्ततः अन्य विश्वविद्यालयझैँ यसमा पनि प्रधानमन्त्री कुलपति र सहकुलपतिमा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री रहने व्यवस्था गरिएको छ । 

यस विधेयकलाई तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले अघि बढाएकी थिइन् । उनले विधेयकलाई प्रतिनिधिसभामा पुर्‍याएकी थिइन् । गएको हिउँदे अधिवेशनले छलफल टुंग्याएपछि अधिवेशनको अन्तिम कार्यसूचीमा चढ्यो । समय अपुगका कारण पारित गर्न सकेको थिएन ।

६०० शैयामा  चलाउन तयार छ भौतिक संरचना 
६ सय शैयाको अस्पताल र मेडिकल कक्षा सञ्चालन गर्न सकिने पूर्वाधार तीर्न वर्षअघि नै तयार छ । हाल ५०शैयामा अस्पताल चलिरहे पनि कम्तीमा ६०० शैयामा चलाउने मिल्ने गरी भौतिक संरचना बनेको तत्कालीन गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका पूर्वकार्यकारी निर्देशक हेमराज पुजाराले बताए । उनका अनुसार २९ वटा भौतिक संरचना निर्माणका लागि ६ अर्बहाराहारी खर्च भएको छ । मेडिकल कलेजका लागि निर्मित संरचनामा सरकारले ०८० कात्तिकबाट ५० शैयाको अस्पताल सञ्चालनमा ल्याएको थियो ।