१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format o८:oo:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० महिनामा लक्ष्यभन्दा दुई खर्ब पाँच अर्ब कम उठ्यो राजस्व

चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न दुई महिनामा चार खर्ब ९६ अर्ब राजस्व उठाउनुपर्ने, आयातमा आएको संकुचनले लक्ष्यको ७३.६२ प्रतिशत मात्रै उठ्यो भन्सार महसुल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई चालू आर्थिक वर्षको १० महिना बित्दा पनि स्रोतको सकस व्यहोर्नुपरेको छ । चालू आवको १० महिनामा (साउन–वैशाख) ११ खर्ब २७ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले नौ खर्ब २२ अर्ब ४३ करोड मात्रै संकलन गरेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा लक्ष्यभन्दा दुई खर्ब पाँच अर्बले कम राजस्व उठेको हो । 

कुल राजस्वमा २० प्रतिशत योगदान पुर्‍याउन भन्सार महसुल लक्ष्यको ७३.६२ प्रतिशत मात्रै उठेको छ । १० महिनामा दुई खर्ब ५० अर्बबराबर महसुल उठाउने लक्ष्य लिइएकोमा एक खर्ब ८४ अर्ब मात्रै संकलन भएको छ । वैशाख महिनामा मात्रै यस्तो महसुल २० अर्ब ७६ करोड उठेको छ । यो मासिक लक्ष्यको ७८.५५ प्रतिशत हो । १० महिनाको लक्ष्यको तुलनामा ८६.६९ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) संकलन भएको छ । तीन खर्ब ११ अर्ब रुपैयाँ भ्याट उठाउने लक्ष्य लिइएकोमा दुई खर्ब ६९ अर्ब मात्रै संकलन भएको छ । उत्पादन तथा बिक्रीबापत संकलन हुने भ्याट लक्ष्यको ८८.११ प्रतिशत उठेको छ भने आयातबापत उठ्ने भ्याट लक्ष्यको ८५.६९ प्रतिशत मात्रै संकलन भएको छ । 

मदिरा, सुर्तीचुरोटजस्ता वस्तुमा लाग्ने अन्तःशुल्क संकलन लक्ष्यको ९०.१७ प्रतिशत छ । एक खर्ब ५७ अर्बको अन्तःशुल्क उठाउने लक्ष्य लिइएकोमा एक खर्ब ४२ अर्ब संकलन भएको छ । जसमा आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क उल्लेख्य रूपमा संकलन भएको छ । आन्तरिक उत्पादनबाट लक्ष्यको ९२.२ प्रतिशत अन्तःशुल्क संकलन भएकोमा आयातबापत लक्ष्यको ८४.८ प्रतिशत मात्रै उठेको छ ।

१० महिनामा तीन खर्ब एक अर्बको आयकर संकलन गर्ने लक्ष्य लिइएकोमा दुई खर्ब २९ अर्ब मात्रै उठेको छ । अर्थात्, लक्ष्यको ७५.९९ प्रतिशत मात्रै उठेको हो । जसमा ब्याजकर लक्ष्यको ६१.९५ प्रतिशत मात्रै उठेको छ । एक खर्ब तीन अर्बको गैरकर उठाउने लक्ष्य लिएकोमा ९३ अर्ब ४९ करोड संकलन भएको छ । भन्सार विभागलाई १० महिनामा चार खर्ब ७६ अर्बको राजस्व उठाउने लक्ष्य दिइएकोमा तीन खर्ब ७७ अर्ब (७९.२६ प्रतिशत) मात्रै संकलन भएको छ । आन्तरिक राजस्व विभागको सो अवधिको लक्ष्य पाँच खर्ब ४७ अर्ब भए पनि चार खर्ब ५१ अर्ब ­(८२.३८ प्रतिशत) संकलन भएको छ । 

 १०.८८ प्रतिशतले बढ्यो राजस्व, ब्याजबापत उठ्ने कर ऋणात्मक
गत आर्थिक वर्ष ०८०/८१ को १० महिनाको राजस्व संकलनको तुलनामा चालू आवको सोही अवधिमा १०.८८ प्रतिशत बढीले राजस्व उठेको छ । गत आवको १० महिनामा आठ खर्ब ३१ अर्ब ९३ करोडको राजस्व संकलन भएकोमा चालू आवमा नौ खर्ब २२ अर्ब ४३ करोडको राजस्व उठेको हो । भन्सार महसुल १३.५९ प्रतिशतले बढेको छ । जसमा निकासीबाट उठ्ने महसुल १६८.९२ प्रतिशतले बढेको देखिन्छ ।

आयातबाट उठ्ने महसुल १३.९८ प्रतिशतले वृद्धि भएको छ । भ्याट संकलन १०.२१ प्रतिशतले बढेको छ जसमा उत्पादन तथा बिक्रीबापत १५.०७ प्रतिशतले भ्याट संकलनमा वृद्धि भएको छ । अन्तःशुल्क संकलन १९.२९ प्रतिशतले बढेको छ । जसमा आयातबाट संकलन हुने अन्तःशुल्क मात्रै २२.१२ प्रतिशतले बढेको छ । आयकर संकलन ५.२३ प्रतिशतले बढेको छ । तर, ब्याजबापत हुने आम्दानीमा लाग्ने कर संकलन १७.०८ प्रतिशतले घटेको छ । भन्सार विभागले गत आवको १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा ११.५८ प्रतिशतले बढी राजस्व संकलन गरेको छ भने आन्तरिक राजस्व विभागले १०.५९ प्रतिशतले बढी राजस्व उठाएको छ । 

 दुई महिनामा झन्डै पाँच खर्ब राजस्व उठाउन दबाब
चालू आर्थिक वर्ष बित्न दुई महिना मात्रै बाँकी रहँदा सरकारलाई वार्षिक लक्ष्य भेट्टाउन चार खर्ब ९६ अर्ब ८७ करोड राजस्व उठाउनुपर्ने दबाब छ । चालू आर्थिक वर्षभरिमा १४ खर्ब १९ अर्ब ३० करोडको राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्ममा ६४.९९ प्रतिशत मात्रै उठाउन सकेको छ । भन्सार महसुलतर्फ वार्षिक लक्ष्यको ६०.०१ प्रतिशत मात्रै संकलन गरेको छ । भ्याटतर्फ ६९.७५ प्रतिशत, अन्तःशुल्कतर्फ ७३.०५ प्रतिशत र आयकरतर्फ ५८.६३ प्रतिशत मात्रै उठेको छ । गैरकरको वार्षिक लक्ष्यको ६९.२ प्रतिशत मात्रै संकलन भएको छ । भन्सार विभागले जेठ र असारमा वार्षिक लक्ष्य भेट्टाउन दुई खर्ब पाँच अर्ब राजस्व उठाउनुपर्ने हुन्छ । त्यस्तै, आन्तरिक राजस्व विभागले दुई खर्ब ५० अर्ब उठाउनुपर्ने हुन्छ ।