
नेपाली राष्ट्रिय महिला टोलीले आइसिसी विश्वकप टी–२० को ग्लोबल छनोट स्थान पक्का गर्न सोमबार युएईलाई हराउनुपर्नेछ । युएईसँगको हारले नेपालको छैटौँपटकको प्रयासमा पनि विश्वकप खेल्ने सपना अधुरो हुनेछ । युएईसँगको खेल वर्षाले रद्द भए नेपालसमक्ष अगाडि बढ्ने एक मौका रहनेछ । सुपर थ्रीको आफ्नो अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई निराश बनाउनुपर्ने हुन्छ । थाइल्यान्डविरुद्धको प्रतिस्पर्धाअगाडि नै ग्लोबल छनोटमा स्थान रक्षा गर्न नेपालले युएईलाई हराउनुपर्ने समीकरण बनेको हो ।
सुपर थ्रीको समीकरणअनुसार नेपाल र युएईमध्ये एक टोली ग्लोबल छनोटमा पुग्नेछ । युएईलाई हराएको थाइल्यान्ड एक खेलअगाडि नै ग्लोबल छनोटमा पुगेको छ । आइसिसीको प्रावधानअनुसार एसियाबाट दुई राष्ट्र मात्र ग्लोबल छनोटमा छनोट हुनेछन् । सोमबारको खेलमा युएई विजयी भए नेपालले अर्को खेलमा थाइल्यान्डलाई पराजित गर्दा पनि पर्याप्त हुनेछैन । युएईको ८ अंक हुनेछ । नेपालले थाइल्यान्डमाथि जित निकाल्दा पनि ७ अंक मात्र हुनेछ । अहिले नेपालको ५ अंक र यूएईको ६ अंक छ । युएई र थाइल्यान्डसँग विश्वकप खेलेको अनुभव छ ।
थाइल्यान्ड समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै ‘सुपर थ्री’मा प्रवेश गरेको हो । युएई समूह ‘बी’ र नेपाल समूह ‘सी’को शीर्ष स्थानमा रहेका थिए । समूह चरणमा हासिल गरेको अंक नै ‘सुपर थ्री’मा जोडिने प्रावधान छ । यस नियमअनुसार नेपाल ५ अंकसहित ‘सुपर थ्री’मा प्रवेश गरेको हो । सुपर थ्रीमा नेपाल तालिकामा पुछारमा रहेको थियो । अघिल्लो चरणमा थाइल्यान्ड र युएईले हारको सामना गरेनन् ।
हेड टु हेडमा नेपाल अगाडि
सन् २०१८ मा नेपालले आइसिसी मान्यता प्राप्त गरेको थियो । आइसिसीको मान्यता प्राप्त गरेपछि नेपालले टी–२०आई खेल्ने अवसर पायो । सात वर्षको अन्तरमा नेपालले युएईसँग पाँचपटक प्रतिस्पर्धा गरिसकेको छ । नेपालले युएईमाथि तीन खेलमा जित निकालेको छ । युएईले एकपटक मात्र नेपाललाई निराश बनाएको छ । यी दुवैबिचको एक खेल ‘नो रिजल्ट’ भएको थियो । आइसिसीको महिला टी–२० आई वरीयतामा युएई नेपालभन्दा माथि रहेको छ ।
युएई १६औँ र नेपाल २१औँ स्थानमा छन् । युएईको १२५ र नेपालको ९१ वरीयता रेटिङ छ । नेपाली महिला टोलीलाई थाइल्यान्डको भूमि ‘लक्की’ देखिन्छ । यहाँ नेपालले युएईविरुद्ध दुईपटक प्रतिस्पर्धा गर्दा हारको सामना गरेको छैन । यसैगरी नेपालले श्रीलंकाली भूमिमा एकपटक युएईमाथि जित निकालेको थियो । युएईले एक मात्र जित नेपालविरुद्ध घरेलु मैदानमा हात पारेको थियो ।
थाइल्यान्डको सहज जित
एसोसिएट राष्ट्रबाट विश्वकपको अनुभवप्राप्त थाइल्यान्डले आइतबार सुपर थ्रीको पहिलो खेलमा युएईमाथि ५४ रनको सहज जित निकाल्यो । पहिलो ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर १४४ रन बनाएको थियो । प्रत्युत्तरमा युएईले २० ओभरमा पाँच विकेटको क्षतिमा ९० रन मात्र बनायो । थाइल्यान्डको जितमा नाथकानले २० बलमा ४६ रन बनाइन् । थाइल्यान्डको बलियो ब्याटिङ प्रदर्शनमा ओपनर नाट्या बोचथानले ४८ बलमा चार चौकाको सहयोगमा ४९ रनको योगदान दिइन् । उनी १ रनले अर्धशतकीय इनिङ्स खेल्न वञ्चित भइन् । नाथकानले आक्रामक ब्याटिङ गर्दा चार चौका र दुई छक्का प्रहार गरेकी थिइन् । यसैगरी विकेटकिपर कोचारोकेले ३६ बलमा ३९ रन बनाइन् ।
प्रत्युत्तरमा ब्याटिङ गरेको युएईले सुनिदाको घातक बलिङ सामना गर्न सकेन । उनले चार ओभरमा ७ रन खर्चंदै एक विकेट हात पारिन् । यसैगरी चानिदाले चार ओभरमा १५ रन दिँदै एक विकेट लिइन् । ब्याटिङमा युएईका लागि हिनाले ४६ बलमा पाँच चौकाको सहयोगमा ३२ रनको योगदान दिइन् । ओपनर तथा कप्तान इसा ओजाले १२ बलमा ११ रन बनाइन् ।