१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
रेशमबहादुर खड्का जाजरकोट
२o८२ जेठ ३ शनिबार १o:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पशु अस्पतालको संरचनामा ६ वर्षदेखि सशस्त्र प्रहरी  

Read Time : > 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८२ जेठ ३ शनिबार १o:१६:oo

पशु अस्पताल तथा पशु सेवा कार्यालयको भौतिक संरचना ६ वर्षदेखि सशस्त्र प्रहरीको कब्जामा परेको छ । आफ्नै भवन र फराकिलो जग्गा हुँदा–हुँदै पनि पशु अस्पताल तथा पशु सेवा कार्यालय सशस्त्र प्रहरीको काँडेतारभित्र तीनकोठे कच्ची घरमा खुम्चिएर बस्नुपरेको छ । 

प्रहरीले संरचना र जग्गा कब्जा गरेपछि कच्ची घरबाट सेवा दिँदै आएको अस्पताल भूकम्पपछि भाडाको घरमा सरेको छ । सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा रहेको सात रोपनी जमिनमा पाँचवटा भवन छन् । सबै सशस्त्रले प्रयोग गरेपछि बाँकी एउटा भवनमा गुम्सिएर बस्नुपरेको थियो । तर, कात्तिक १७ मा आएको भूकम्पले त्यो भवन पनि जीर्ण बनाएको छ । 

आफ्नो भवनमा सशस्त्र प्रहरी बसेका कारण भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

संघीय संरचनाअन्तर्गत कार्यालयहरूको पुनर्संरचना गर्ने क्रममा ०७४ मा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर पश्चिम रुकुमस्थित पशुपक्षीविज्ञ केन्द्रमा गाभिएको थियो । तर, सम्पर्क कार्यालयको नाममा केही कामकाज सोही कार्यालयबाट भइरहेको थियो । ०७४ मा सरकारले जाजरकोटमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्‍यो । सशस्त्रलाई तत्कालीन जिल्ला सुरक्षा समिति र राजनीतिक दलको सहमतिमा जिल्ला पशु सेवा कार्यालयमा राख्ने निर्णय गरिएपछि ०७६ असारदेखि सशस्त्र प्रहरी बस्न थालेको हो । 

तर, स्थानीयको दबाबका कारण पशु चिकित्सकको दरबन्दीसहित ०७६ साउनदेखि पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना भयो ।  

सशस्त्रको कार्यालय स्थापना भइसकेको र पशु अस्पताल तथा पशु सेवा कार्यालयको पनि आफ्नै भवन भएकाले सँगसँगै बस्दै आएको छ । तर, सुरक्षा पोस्टभित्र कार्यालय भएकाले सेवाग्राही र कर्मचारी दुवैलाई समस्या भएको कार्यालयका प्रमुख उपाध्यायले बताए । ‘हामीले कार्यालयको स्थायी संरचना भएर पनि उपयोग गर्न सकेका छैनौँ,’ कार्यालयका एक कर्मचारीले भने, ‘सशस्त्र प्रहरी राखिएको छ, १० वटा कोठा भाडामा लिएर चार लाख ४४ हजार रुपैयाँ वार्षिक तिर्दै सेवा दिइरहेका छौँ ।’