
धेरै जित निकालेका आधारमा नेपाल समूह ‘सी’को विजेता, हङकङ र बहराइनबिचको खेल वर्षाले रद्द
नेपाली महिला क्रिकेट टोली पहिलोपटक आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोटको सुपर थ्रीमा पुगेको छ । थाइल्यान्डको बैंककमा चलिरहेको एसियन छनोटको शुक्रबार हङकङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द भयो । यो नतिजासँगै नेपालले ऐतिहासिक रूपमा सुपर थ्रीको स्थान सुरक्षित गरेको हो । नेपाल र हङकङले समान पाँच अंक जोडेका छन् । रनरेटमा हङकङ अगाडि रह्यो ।
नेपालले समूह चरणमा दुवै खेल बहराइनविरुद्ध निकालेको थियो । हङकङले भने नेपाललाई मात्र पराजित गरेको थियो । हङकङले बाँकी तीन खेलमा नतिजाविहीन सामना गरेको थियो । छनोट प्रतियोगितामा धेरै खेल जितेका आधारमा नेपाल समूह ‘सी’को विजेता हुँदै अघिल्लो चरणमा पुगेको हो । बहराइनमाथिको जितले हङकङ समूह विजेता हुँदै सुपर थ्रीमा पुग्ने थियो । नेपाल प्रतियोगिताबाट बाहिरिने थियो ।
हङकङको यात्रामा वर्षा बाधक बन्दा नेपाल भाग्यमानी ठहरियो । आइसिसीको नियमअनुसार डबल राउन्डरोबिन लिगपछि शीर्ष दुई टोलीबिच अंक बराबर हुँदा धेरै जित निकाल्ने टोली विजेता हुन्छ । नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन थियो । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो । समूह ‘सी’बाट हङकङ र बहराइन बाहिरिएका छन् ।
बहराइनविरुद्धको जित नै मुख्य आधार
हङकङ र बहराइनबिचको खेल वर्षाले प्रभावित बनाउँदा नेपाल भाग्यमानी हुँदै सुपर थ्रीमा पुग्यो । नेपालले भाग्यको साथ पाए पनि ऐतिहासिक यात्रा तय गर्नुपछाडि छनोट खेलमा बहराइनविरुद्धको महŒवपूर्ण जित प्रमुख आधार रह्यो । नेपालले समूह ‘सी’को आफ्नो अन्तिम खेलमा बहराइनमाथि सानदार जित निकालेको थियो । यो खेलमा नेपालले हार वा अंक बाँडेको भए हङकङ सुपर थ्रीमा पुग्ने थियो ।
बहराइनसँग पराजित हुँदा नेपालको अंक तीन मात्र हुन्थ्यो भने वर्षाले खेल रद्द भए चार अंक मात्र हुने थियो । यस्तो अवस्थामा हङकङ रनरेटका आधारमा एक खेलअगाडि नै सुपर थ्रीमा पुग्ने थियो । यो समीकरणमा नेपाल फेरि छनोट चरणबाटै बाहिरिने थियो । बहराइनविरुद्धको खेलमा नेपालकी कप्तान इन्दु वर्माले कप्तानी इनिङ्स खेलेकी थिइन् । उनले बलिङमा १३ रन खर्चेकी थिइन् ।
लक्ष्य पछ्याएको इनिङ्समा उनले सात बलमा चार चौका र एक छक्का प्रहार गरी आक्रामक २७ रनको योगदान दिइन् । उनको यसै उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण नेपालले बहराइनमाथि ६ विकेटको जित निकाल्यो । थाइल्यान्डमा चलिरहेको छनोट प्रतियोगितामा इन्दु नेपालबाट ब्याटिङमा सर्वाधिक रन बनाउने खेलाडीमा छिन् । उनले तीन खेलमा ४० रन बनाएकी छिन् । यस क्रममा उनले पाँच चौका र एक छक्का हिर्काएकी छिन् । छनोटमा धेरै रन बनाउने सूचीमा उनी आठौँ स्थानमा छिन् ।
नेपाललाई सुपर थ्रीमा पुर्याउन बलिङमा कविता कुँवरले तीन खेलमा दुई विकेट लिएकी छिन् । कविताले हङकङसँगको खेलमा दुई विकेट लिएकी थिइन् । उनले १.३ ओभरमा पाँच रन खर्चेकी थिइन् । उनी सर्वाधिक विकेट लिने बलरको नवौँ स्थानमा छिन् । यसैगरी, उपकप्तान पूजा महतोले तीन खेलमा एक विकेट हात पारेकी छिन् ।
नेपालले थाइल्यान्ड र युएईको सामना गर्ने
प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर थ्रीमा पुगेका छन् । नेपालले सुपर थ्रीमा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्नेछ । नेपाल, थाइल्यान्ड र युएईले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् । सुपर थ्रीमा पहिलो चरणको अंकसमेत गणना हुनेछ ।
नेपालले सुपर थ्रीको शीर्ष स्थानमा पुग्न कम्तीमा एक जित निकाल्नुपर्नेछ । हार वा वर्षाले खेल प्रभावित भए नेपाल ग्लोबल छनोटमा पुग्ने सक्दैन । आइसिसीले सुपर थ्रीमा पनि प्रतिस्पर्धीको समान अंक भए पहिलो जित संख्या हेर्नेछ । त्यसपछि रनरेटका आधारमा शीर्ष टोलीको छिनोफानो हुनेछ । नेपालले सुपर थ्रीमा सोमबार युएई र मंगलबार थाइल्यान्डको सामना गर्नेछ ।
ग्लोबल छनोटमा एसियाबाट दुई कोटा रहेको छ । ग्लोबल छनोटमा १० राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ । यसबाट चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
सुपर थ्रीमा थाइल्यान्ड र युएईसँग विश्वकप खेलिसकेको अनुभव छ । यी दुई राष्ट्रको तुलनामा नेपाल कमजोर देखिन्छ । हेड टु हेड पनि नेपालभन्दा दुवै राष्ट्र बलिया छन् । पछिल्ला तीन खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । नेपालले युएईविरुद्ध महिला एसिया कपमा जित निकालेको थियो । रमाइलो पक्ष के रह्यो भने नेपालले विश्वकप एसिया छनोटमै युएईलाई हराएको थियो । यद्यपि, युएई उत्कृष्ट फर्ममा छ ।
छैटौँ प्रयासमा समूह चरण पार
सन् २००७ मा नेपाली महिला क्रिकेट टोलीले मलेसियामा भएको एसिसी महिला क्रिकेट प्रतियोगितामा डेब्यु गरेको थियो । सन् २०१८ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट टी–२० आईको मान्यता पायो । नेपालले सन् २०१६ देखि आइसिसी टी–२० महिला विश्वकप छनोट खेल्दै आएको छ । नेपालले छैटौँ प्रयासमा समूह चरण पार गरेको हो । सन् २०१६ को एसियन छनोटमा नेपाल समूहको उपविजेतामै सीमित भयो । त्यसवेला एसियाबाट थाइल्यान्ड ग्लोबल छनोटमा पुग्यो । नेपालले तीन जित निकाली ६ अंक जोडेको थियो ।
सन् २०१७ को छनोटमा नेपाल दोस्रो भयो । यसपटक पनि थाइल्यान्डले सर्वाधिक १२ अंक जोड्दै एसियाबाट अर्को चरणमा पुग्यो । दोस्रोपटकको एसियन छनोटमा नेपालले ६ खेलमा पाँच जित निकालेको थियो । नेपाल केवल थाइल्यान्डसँग पराजित भएको थियो । सन् २०२१ को आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोटमा नेपाल तेस्रो भएको थियो । यसपटक नेपालले पाँच खेलमा तीन जित र दुई हारको सामना गरेको थियो । युएई शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्यो । सन् २०२३ को एसियन छनोटमा नेपाल पुनः एकपटक दोस्रो भयो । युएई लगातार दोस्रोपटक ग्लोबल छनोटमा पुग्यो ।
अघिल्लोपटक भने नेपाल थोरै रनरेटमा ग्लोबल छनोटमा पुग्न सकेन । युएई र नेपालले समान पाँच खेलमा नौ अंक बनाएका थिए । युएईले नेपाललाई रनरेटमा निराश बनाउँदै ग्लोबल छनोटको स्थान बनाएको हो । यसपटक थाइल्यान्डमा भएको खेलमा सर्वाधिक जितका आधारमा नेपाल सुपर थ्रीमा पुगेको हो ।