
दाङको तुलसीपुर– ४, रक्षाचौरस्थित गुरुजजुर नमुना माविमा ०७५ सालदेखि बाली विज्ञान पढाइ सुरु भयो । ४० जनाको कोटा भएको सोही विद्यालयमा त्यो कोटा कहिल्यै पनि पूरा भएन । सुरुको वर्ष ३७ जना विद्यार्थीले बाली विज्ञान पढेको भए पनि त्यसपछिका वर्षहरूमा भने विद्यार्थी झन्–झन् घट्दै गए । शुल्क घटाए पनि विद्यार्थीको संख्या बढेन ।
सुरुमा एक लाख ९० हजार थियो । त्यही शुल्कमा ०७६ सालमा १६, ०७७ मा १७ विद्यार्थी मात्रै पढ्न आए । त्यसपछि विद्यालयले शुल्क घटाएपछि विद्यार्थी आउँछन् कि भन्ने थियो । ०७८ सालमा शुल्क घटाएर एक लाख ४५ हजार बनाइयो । त्यतिवेला विद्यार्थी बढेर २८ पुगे । ०७९ मा पनि त्यही शुल्क कायम भयो । तर, विद्यार्थी पुनः घटे । त्यो वर्ष १६ जना मात्रै विद्यार्थी भए ।
पुनः शुल्कलाई घटाएर एक लाख १० हजार पुर्याइयो । त्यो हुँदा ०८० सालमा २१ जना विद्यार्थी भए । तर, विद्यार्थी घट्दै गएपछि ०८१ सालमा ५५ हजार बनाइयो । तर, विद्यार्थी उल्लेख्य बढेनन् । विद्यार्थी २६ जना मात्रै भर्ना भए । यसरी बर्सेनि विद्यार्थीको शुल्क घटाए पनि बाली विज्ञान पढ्ने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढ्न नसकेको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले बताए । ‘हामीले विद्यार्थीको संख्या बढ्छ कि भनेर शुल्क पनि घटाउँदै गयौँ,’ उनले भने, ‘तर, विद्यार्थी संख्या भने उल्लेख्य रूपमा बढेन ।’
१२ पास गरेर विद्यार्थी बाहिरी जिल्ला जाने क्रम बढेकाले पनि यस्तो समस्या देखिएको हुन सक्ने उनले बताए । सुरुमा उत्साहजनक रूपमा विद्यार्थीको संख्या बढिरहेको भए पनि पछिल्लो समय बाली विज्ञान पढेका विद्यार्थीहरू स्वरोजगार हुन सक्ने अवस्था नरहेपछि पढ्नेको संख्या घटेको हुन सक्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक यज्ञ खड्काले बताए ।
‘नेपाल कृषिप्रधान देश हो, जहाँ कृषि प्राविधिकको भूमिका धेरै हुन्छ,’ उनले भने, ‘यसमा हामीले बुझाउन नसक्दा पनि यस्तो समस्या भएको हो, यसमा स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि ख्याल गर्नुपर्छ ।’ विद्यार्थी रेशम महरले पनि किसानको समस्या पहिचान गर्नका लागि कृषि प्राविधिक आवश्यक भएको भन्दै यसमा सरकारले पनि ख्याल गर्नुपर्ने बताए । त्यस अवसरमा नेचर केयर एग्रोफर्मका सञ्चालक बुद्धिराज पौडेलले कृषि पेसा मर्यादित नहुँदा विद्यार्थी बाली विज्ञान पढेर पनि विदेश जानुपर्ने अवस्था आएको बताए ।
गुरुजजुर नमुना माविको आयोजनामा भएको कृषि बाली विज्ञान विषयको प्रवर्द्धनका लागि योजना निर्माण तथा अन्तर्क्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज दहितले पढ्दै, कमाउँदै कार्यक्रममा जोडिनुपर्ने बताए भने शिक्षा शाखा अधिकृत मनबहादुर खड्काले कृषि समूहसँग सहकार्य गरी कृषि प्राविधिकलाई जोड्नुपर्ने बताए ।
त्यस्तै, तुलसीपुर– ९ का वडाध्यक्ष घनश्याम ढकालले पाँचजना विद्यार्थीलाई बाली विज्ञान अध्ययनका लागि छात्रवृत्ति दिने बताए। कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका– ४ का अध्यक्ष तुलसी थापाले कृषि पेसा नै नेपालीको मुख्य आम्दानीको स्रोत भएकाले यसलाई वृद्धि गर्न वडा सरकार लागिपरेको बताए ।