Skip This
अधिकांश हतियार विदेशबाट आपूर्ति गर्छन् भारत र पाकिस्तान 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार १o:११:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

अधिकांश हतियार विदेशबाट आपूर्ति गर्छन् भारत र पाकिस्तान 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १o:११:oo

गत साता भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरका केही भागमा क्षेप्यास्त्र आक्रमण गर्‍यो । भारतले बुधबार बिहान आफ्नो अप्रेसन सिन्दूर सैन्य कारबाहीमार्फत ‘अतिवादीका नौवटा अखडालाई निसाना बनायो । जवाफमा पाकिस्तानले पनि भारतका केही क्षेत्रमा आक्रमण गर्‍यो । सीमामा गोलाबारी र एक–अर्को भूमिमा मिसाइल हमलाबिच शनिबार दुई देशबिच युद्धविराम भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा छोटो समयमा नै युद्धविराम सम्भव भएको हो । युद्धविरामबाट दुवै देशका सर्वसाधारण खुसी देखिन्छन् । तथापि, सीमामा छिटफुट गोलाबारीका घटना भएका दुवै देशले बताएका छन् । युद्धविरामपछि दुवै देशका हवाई सेवा फेरि सञ्चालनमा आएका छन् । तथापि, सिन्धु जलसम्झौता निलम्बन र पाकिस्तानी नागरिकमाथिको भिसा रद्द भने यथावत् छ । सोमबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रेसन सिन्दूर आतंकविरुद्ध भारतको नीति भएको बताएका छन् ।

१९४७ मा बेलायती औपनिवेशिक शासकले विभाजनको रेखा कोरेर भारतीय उपमहाद्वीपलाई मुस्लिमबहुल पाकिस्तान र हिन्दुबहुल भारतमा विभाजित गरे । त्यसपछिको घटना मानव इतिहासको सबैभन्दा ठुलो र सम्भवतः सबैभन्दा रक्तपातपूर्ण थियो । अठहत्तर वर्ष बितिसक्दा पनि दुई राष्ट्र अझै पनि एक–अर्काका कट्टर शत्रु हुन् । उनीहरूसँग आणविक हतियार छ । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबिचको तनाव फेरि एकपटक चुलियो ।

मुस्लिमबहुल कस्मिर क्षेत्र भारत विभाजनदेखि नै विवादमा छ । भारत, पाकिस्तान र चीनले कस्मिरको एक भाग नियन्त्रण गर्छन् । भारतले यो सबै दाबी गर्छ भने पाकिस्तानले भारतद्वारा प्रशासित भाग दाबी गर्छ । कस्मिरलाई लिएर दुवै देशबिच चार ठुला युद्ध र सीमापारमा धेरै झडप र तनाव भएका छन्, जसमा २०१९ मा पाकिस्तानस्थित सशस्त्र समूह जैस–ए–मोहम्मदले दाबी गरेको आत्मघाती आक्रमण (कम्तीमा ४० भारतीय सैनिक मारिएका) पनि समावेश छ ।

बदलामा भारतले सोही महिनाको अन्त्यतिर खैबर पख्तुनख्वाको बालाकोटमा हवाई हमला सुरु गर्‍यो । आक्रमणमा उसको जेटले ‘आतंकवादी’ अड्डामा प्रहार गरेको थियो र धेरै लडाकु मारिएका दाबी गरिएको थियो । भारतले वास्तवमा सशस्त्र समूहको अड्डाहरूमा प्रहार गरेको र धेरै लडाकु मारिएका थिए भन्ने भारतीय दाबीमा धेरै स्वतन्त्र विश्लेषकले प्रश्न उठाएका छन् ।

भारत र पाकिस्तानको सैन्य क्षमता कति ?
ग्लोबल फायरपावरको २०२५ को सैन्यशक्ति श्रेणीकरणअनुसार भारत विश्वको चौथो सबैभन्दा बलियो सैन्य शक्ति हो भने पाकिस्तान १२औँ बलियो स्थानमा छ । भारत विश्वको पाँचौँ ठुलो सैन्य खर्च गर्ने देश पनि हो । अग्रणी रक्षा र हतियार थिंक ट्यांक स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआई) का अनुसार २०२४ मा यसले आफ्नो सेनामा ४८६ अर्ब खर्च गर्‍यो, जुन यसको कुल गार्हस्थ उत्पादन (जिडिपी) को २.३ प्रतिशत हो । पाकिस्तानले २०२४ मा सेनामा ४१०.२ अर्ब खर्च गर्‍यो, जुन यसको जिडिपीको २.७ प्रतिशत खर्च हो । भारतको कुल सैन्य शक्ति ५१ लाख ३७ हजार पाँच सय ५० छ, जुन पाकिस्तानको १७ लाख चार हजारभन्दा तीन गुणा बढी हो । कुनै पनि देशमा अनिवार्य भर्ती छैन । भारतसँग २,२२९ सैन्य विमानहरू छन्् जबकी पाकिस्तानी सैन्य विमानको संख्या एक हजार ३९९ छ । पाकिस्तानको केबल एक हजार ८३९ ट्यांकको तुलनामा भारतसँग तीन हजार १५१ वटा छन् । पाकिस्तानको नौसेनाले अरब सागरमा यसको एक हजार ४६ किलोमिटर लामो (६५० माइल) दक्षिणी तटीय सीमा ओगटेको छ र उसँग १२१ नौसेना एसेस्ट छन्, जबकि भारतको मुख्य भूमि तटले २९३ नौसेनासहित लगभग ६ हजार १०० किलोमिटर (तीन हजार ८०० माइल) ओगटेको छ ।

आणविक हतियारको दौडमा भारत–पाक
आणविक हतियार प्रतिबन्ध लगाउने विश्वव्यापी गठबन्धन अन्तर्राष्ट्रिय अभियान टु एबोलिस न्युक्लियर वेपन्स (आइसिएएनडब्लु) का अनुसार २०२३ मा विभिन्न देशले आणविक हतियारमा अनुमानित ४९१.४ अर्ब डलर खर्च गरे, जसमा भारतले ४२.७ अर्ब डलर र पाकिस्तानले ४१ अर्ब खर्च गरे । भारतले मे १९७४ मा आफ्नो पहिलो आणविक परीक्षण गर्‍यो र मे १९९८ मा अरू पाँच परीक्षण गर्‍यो । लगत्तै उसले आफूलाई आणविक हतियार भएको राज्य घोषणा गर्‍यो । पाकिस्तानले १९९८ मा भारतको केही समयपछि आफ्नो पहिलो आणविक परीक्षण गर्दै आधिकारिक रूपमा आणविक हतियार भएको राज्य बन्यो । त्यसवेलादेखि दुवै राष्ट्र हतियार दौडमा संलग्न छन्, जसका कारण उनीहरूले अर्बौं डलर खर्च गरेका छन् ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआइएस) मिसाइल डिफेन्स प्रोजेक्टका अनुसार नयाँदिल्लीको आणविक निवारक मुख्यतया प्रतिद्वन्द्वी पाकिस्तान र चीनलाई लक्षित गरी बनाइएको छ । भारतले लामो दूरीको मिसाइल र जमिनमा आधारित मिसाइल विकास गरेको छ । रुससँगको सहकार्यमा भारत जहाज र पनडुब्बी मिसाइलको विकास चरणमा छ । सिएसआइएसले यो पनि बताउँछ कि पाकिस्तानको हतियारमा मुख्यतया छोटो र मध्यम दूरीको ब्यालिस्टिक मिसाइल छन्, जसको दूरी भारतलाई लक्षित गर्न पर्याप्त छ । आणविक र मिसाइल कार्यक्रममा चीनको महत्वपूर्ण प्राविधिक सहयोगले हालका वर्षमा पाकिस्तानलाई मद्दत गरेको छ ।

चीनको बढ्दो भूमिका
एसआइपिआरआईका अनुसार दुई देशबिचको सीमापार तनावले दुवै देशले हतियार आयातलाई बढावा दिएका छन् । भारत २०२०–२०२४ सम्म युक्रेनपछि दोस्रो ठुलो हतियार आयातकर्ता थियो, जसले विश्वव्यापी आयातको ८.३ प्रतिशत हिस्सा ओगटेको थियो । भारतको अधिकांश आयात रुसबाट हुन्छ, यद्यपि यसले आफ्नो हतियार स्रोतहरू फ्रान्स, इजरायल र संयुक्त राज्य अमेरिकामा सार्दै आएको छ ।

सीमापारि पाकिस्तानको हतियार र हतियार आयात २०१५–१९ र २०२०–२४ को बिचमा ६१ प्रतिशतले बढ्यो, किनभने यसले लडाकु विमान र युद्धपोतसहित ‘डेलिभरी’ प्राप्त गर्न थाल्यो । विश्वव्यापीस्तरमा पाकिस्तान २०२०–२४ मा ४.६ प्रतिशत आयातका साथ पाँचौँ ठुलो हतियार आयातकर्ता हो । १९९० देखि पाकिस्तानको मुख्य आपूर्तिकर्ता चीन रहेको छ । २०२०–२४ मा चीनले पाकिस्तानको हतियार आयातको ८१ प्रतिशत आपूर्ति गर्‍यो । सोही अवधिमा रुसले भारतको हतियारको ३६ प्रतिशत आपूर्ति गर्‍यो ।

–अलजजिराबाट