Skip This
प्रेरक प्रसंग : अनमोल ज्ञान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५१:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अनमोल ज्ञान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५१:oo

एकपटक गुरुकुलका एक शिक्षक सम्पन्न परिवारबाट आएका एक शिष्यका साथ कतै घुम्न निस्किए । उनीहरूले बाटामा पुरानो एकजोर जुत्ता देखे । सायद, ती जुत्तानजिकैको खेतमा काम गर्न गएका कृषि मजदुरका थिए होलान् । शिष्यलाई रमाइलो गर्न मन लाग्यो । उनले गुरुसित भने– गुरुदेव, हामी यो जुत्तालाई कतै लुकाइदिएर झाडीमा लुकौँ न । जुत्ता नदेखेपछि ती मजदुरले आत्तिएर यताउता खोज्दै गरेको दृश्य हेर्न रमाइलो हुन्छ । 

शिक्षकले गम्भीर हुँदै भने– कुनै गरिब मजदुरलाई यसरी जिस्क्याउनु ठिक हुँदैन । बरु हामी यी जुत्तामा केही सिक्का हालिदिऊँ । अनि, त्यो देख्दा मजदुरमा कस्तो प्रभाव पर्छ ? तिमीले भनेजस्तै झाडीमा लुकेर हेरौँ, हुन्न ? हस् गुरुदेव, भन्दै शिष्यले दुवै जुत्तामा केही सिक्का राखिदिए । दुवै गुरुशिष्य नजिकको झाडीमा लुकेर मजदुरको प्रतीक्षा गर्न थाले ।

एकैछिनमा आफ्नो काम पूरा गरेर मजदुर जुत्ता राखिएको स्थानमा आए । जब उनले आफ्नो एउटा खुट्टा जुत्तामा घुसारे, उनलाई कुनै कडा वस्तुको अनुभव भयो । उनले दुवै जुत्ता हातमा उठाएर हेरे । त्यहाँ केही सिक्का थिए । यो देख्दा उनी घोर आश्चर्यमा परे । उनी ती सिक्कालाई ओल्टाइपल्टाइ हेर्न थाले । उनले यताउता सबैतिर आँखा डुलाए । तर, टाढाटाढासम्म कोही देखिएन । उनले ती सिक्का आफ्ना खल्तीमा हाले । मजदुर भावविभोर भए । उनले हात जोडेर माथितिर हेर्दै भने– हे भगवान् ! गम्भीर संकटको समयमा यसरी मलाई सहयोग गर्ने अन्जान सहयोगीलाई मेरो लाखलाख धन्यवाद छ । तिनैको सहयोगका कारण अब मैले मेरी बिरामी पत्नीका लागि औषधि र खानाको व्यवस्था गर्न सक्ने भएँ । 

मजदुरको भनाइ सुन्दा शिष्यका आँखा आँसुले भरिए । शिक्षकले उनीतिर हेर्दै भने– के तिमीले जुत्ता लुकाइदिँदा प्राप्त हुनेजति खुसी सिक्का हालिदिँदा पायौ त ? शिष्यले शिर झुकाउँदै भने– आज हजुरले मलाई जीवनकै अनमोल पाठ पढाउनुभयो, गुरुदेव ! यसलाई म जीवनभर भुल्नेछैन । जीवनमा कसैबाट केही लिनुभन्दा दिनुको आनन्द कैयौँ गुणा बढी हुँदो रहेछ भन्ने ज्ञान पाएँ गुरुदेव मैले । यो अनमोल ज्ञानका लागि हजुरलाई मुरीमुरी धन्यवाद !