
सिंगापुरको सत्तारूढ ‘पिपुल्स एक्सन पार्टी (पिएपी)’ले लगातार १६औँ आमचुनाव जित्यो । मे ३ मा सम्पन्न आमनिर्वाचनमा भारी मतले जित्दै पिएपीले सत्तामाथिको पकड थप बलियो मात्र बनाएन, देशलाई निरन्तर राजनीतिक स्थिरता प्रदान गर्ने सुनिश्चितता पनि गर्यो । ब्रिटिस उपनिवेशकालमा सन् १९५९ मा भएको निर्वाचनदेखि सत्तामा रहेको पिएपीले ६६ वर्षदेखि निरन्तर सिंगापुरमा शासन गर्दै आएको छ । पार्टीले यसपटक अघिल्लो निर्वाचनमा भन्दा लोकप्रिय मतको हिस्सासमेत बढाएको छ । आइतबार सार्वजनिक भएको परिणामअनुसार पिएपीले कुल ९७ सिटमध्ये ८७ सिट जितेको छ, जसमा पाँच निर्विरोध जितेका सिट पनि समावेश छन् ।
सिंगापुरको निर्वाचन विभागका अनुसार शनिबारको चुनावमा मतदान नामावलीमा २६ लाख मतदाताको नाम दर्ता थियो । तीमध्ये ९२ प्रतिशतभन्दा बढीले मतदान गरे । अघिल्लो निर्वाचनमा मतदाता नामावलीमा रहेका ९६ प्रतिशतले मतदान गरेका थिए । प्रधानमन्त्री लरेन्स वङको नेतृत्वमा भएको चुनावी प्रतिस्पर्धामा पिएपीले सिट मात्र होइन, लोकप्रिय मत पनि बढाएको छ । उसले यसपटक ६६ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको छ । सन् २०२० को आमचुनावमा पार्टीले दशकौँ यताकै न्यून अर्थात् ६१ प्रतिशत लोकप्रिय मत पाएको थियो । लोकप्रिय मत खस्किँदा धेरैले पार्टीप्रतिको आमसमर्थन घटेको अनुमान गरेका थिए । विश्वको सबैभन्दा खर्चिलो नगरमा गणना हुने सिंगापुरमा पछिल्लो समय बढ्दो महँगी र आवासको अभावले आमअसन्तोष बढ्दै गएको छ ।
यस निर्वाचनलाई प्रधानमन्त्री वङको नेतृत्वको परीक्षाको रूपमा हेरिएको थियो । सिंगापुरका संस्थापक नेता ली क्वान यूका परिवारबाहिरका पहिलो प्रधानमन्त्री वङले पार्टीप्रतिको आमसमर्थनलाई कत्तिको निरन्तरता दिन सक्छन् भन्ने धेरैको चासो थियो । यूको परिवारले सात दशकसम्म सिंगापुरको राजनीतिमा प्रभुत्व जमायो । त्यस अवधिमा यो नगर–राज्य विकासशील राष्ट्रबाट विश्वको सबैभन्दा धनी राष्ट्रमा रूपान्तरण भएको थियो । ५२ वर्षीय वङलाई गत वर्ष सिंगापुरका संस्थापक प्रधानमन्त्री ली क्वान यूका छोरा ली सियन लुङले प्रधानमन्त्री पद हस्तान्तरण गरेका थिए । हाल सरकारका प्रभावशाली सल्लाहकार भूमिकामा रहेका ली सियन लुङ २० वर्षसम्म देशको प्रधानमन्त्री रहे ।
कुल २६ सिटमा प्रतिस्पर्धा गरेको विपक्षी वर्कस पार्टीले सन् २०२० मा जितेको १० सिट कायम राखे पनि सोभन्दा बढी सिट जित्न सकेन । मिडिया, प्रशासन र यस नगर–राज्यको हरेक पक्षमाथि बलियो पकड बनाएको पिएपीको शासनमा यति सिट जोगाउनुलाई पनि विपक्षी दलका लागि अभूतपूर्व सफलता मानिएको छ । विपक्षीले मिडिया कभरेजसमेत नपाउने अवस्थामा वर्कस पार्टीले सिट जोगाउनुलाई सिंगापुरको राजनीतिक भावनामा परिवर्तनको संकेत गर्ने विश्लेषकहरू मान्छन् । वर्कस पार्टीका नेता प्रीतम सिंहले आफूहरूले कठिन अभियानको नेतृत्व गरेको स्विकारे । मतदानअघि उनलाई संसद्मा झुट बोलेको आरोपमा दोषी ठहर्याइएको थियो ।
यो निर्वाचन वङको पहिलो ठुलो राजनीतिक परीक्षण थियो । र, यसमा उनी सफल भएका छन् । अधिकांश निर्वाचन क्षेत्रमा पिएपीको जित–अन्तर ठुलो देखिएको छ । केवल तीनवटा स्थानको प्रतिस्पर्धामा मात्र पार्टीले झिनो अन्तरले जित हासिल गरेको छ । ‘यो केवल यथास्थिति मात्र होइन । प्रत्येक निर्वाचन क्षेत्रमा विजयको मतान्तर हेर्ने हो भने पार्टीप्रति अझै उल्लेखनीय समर्थन देखिन्छ,’ नेसनल युनिभर्सिटी अफ सिंगापुरका सहायक वरिष्ठ व्याख्याता मुस्तफा इज्जुद्दिनले रोयटर्सलाई भने, ‘पछिल्लो मतपरिणामले निश्चित रूपमा प्रधानमन्त्री वङप्रति बलियो जनादेशको संकेत गर्छ ।’
दशकौँदेखि सत्तामा रहेको पिएनपी अझै पनि विशाल संस्थागत पहुँच र स्रोतबाट लाभान्वित रहेको तथ्य बिर्सनुहुँदैन । निर्वाचनअघि सरकारी अधिकारीले पिएपीले सिट गुमाएमा सिंगापुरले विश्वव्यापी आर्थिक अस्थिरतासँग जुध्ने क्षमता गुमाउने चेतावनी दिएका थिए । चीन–अमेरिकाबिचको तनावको पृष्ठभूमिमा यस्तो चेतावनी दिइएको थियो । वैदेशिक व्यापारमा निर्भर यस देशका मतदाताले बढ्दो भूराजनीतिक तनावको समयमा स्थिरताको समर्थन गरेको देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार लगाएसँगै सुरु भएको व्यापार युद्ध पछिल्लो समय भएका विभिन्न देशका निर्वाचनमा प्रमुख मुद्दा बनेको छ । हालै क्यानडा र अस्ट्रेलियामा भएको निर्वाचनमा पनि ट्रम्पले निम्त्याएको भूराजनीतिक अनिश्चितता मूल मुद्दा बन्यो । त्यहाँ ट्रम्पविरुद्ध दृढ रूपमा उभिने वाचा गरेका दल चुनाव जित्न सफल भए । सिंगापुरमा पनि लगभग उस्तै प्रवृत्ति दोहोरिएको छ ।
सिंगापुर कति धेरै विश्वव्यापी व्यापारमा निर्भर छ भन्ने तथ्य यसको वैश्विक व्यापार कुल गार्हस्थ उत्पादनभन्दा तीन गुणा बढी भएको देखाउँछ । चीन र पश्चिमबिच सेवा र सामान लेनदेनमा महत्वपूर्ण भूमिका खेल्ने यस वित्तीय र व्यावसायिक केन्द्र विश्वव्यापी व्यापारमा मन्दी आए अरूभन्दा बढी प्रभावित हुनेछ ।
– फाइनान्सियल टाइम्सबाट