
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण सय जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीलाई उदृत गर्दै समाचार समिति एएफपीले जनाएको छ ।
मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले बताए ।
मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र सोही तालको किनारामा रहेका घरहरू भत्किएका उनले बताए । ‘मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन्,’ उनले भने, ‘विपत्का कारण एक सयभन्दा बढीको मृत्यु भएको, २८ जना घाइते भएका र करिब १५० घर भत्किएका छन् ।’
क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताए ।
अर्का एक स्थानीय बासिन्दाका अनुसार शनिबारसम्म ११९ जनाको शव फेला परेको छ । टाङ्गानिका तालको छेउमा रहेको र तालबाट मात्र पुग्न सकिने उक्त गाउँमा इन्टरनेट सेवा नभएको एक स्थानीय मानवीय सहायताकर्मीले बताए ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गाका विशेष गरी पूर्वमा ठूला तालहरूको किनारमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् । सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा रहेका विभिन्न समुदायका करिब ४०० जनाको बाढीका कारण मृत्यु भएको थियो ।-रासस