१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २५ बिहीबार १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ पुस्तकालयलाई प्रदेश सरकारको अनुदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १३:३२:oo

गण्डकीका १५ सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ। प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा पुस्तकालय स्तरोन्नति अनुदान कार्यक्रमका लागि रु. ३७ लाख बजेट विनियोजन गरेको थियो। 

मन्त्रालयका अधिकृत हीराबहादुर थापामगरका अनुसार सात पुस्तकालयले रु. तीन लाख र आठ पुस्तकालयले रु. दुई लाखका दरले अनुदान प्राप्त गरेका छन्। उक्त बजेटअनुसारको कार्यक्रम कार्यान्वयन भई अनुगमन र भुक्तानी प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बर्सेनि प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि अनुदान दिँदै आएको छ। 

प्रस्ताव माग गरी मापदण्ड पूरा गर्ने पुस्तकालय मात्र अनुदानका लागि छनोटमा पर्ने गरेका छन् । पुस्तकालय दर्ता, नियमित सञ्चालन, वार्षिक कार्ययोजना, संस्थागत सुशासनलगायतलाई आधार मानेर अनुदानका लागि छनोट गर्ने गरिएको छ । गत वर्ष रु. ३० लाख बजेट वितरण गरिएकामा यो वर्ष बढाएर रु. ३७ लाख पुर्‍याइएको हो। पुस्तकालयले पुस्तक खरिद, फर्निचर, सूचना प्रविधिलगायतमा अनुदानको बजेट खर्च गर्नुपर्ने प्रावधान छ। पुस्तकालयलाई सामुदायिक अध्ययन केन्द्रका रूपमा विकास गर्दै भूगोल, इतिहास, कला, साहित्य, संस्कृति, पर्यटनलगायत विषयका पठनसामग्रीको व्यवस्थापनबाट गण्डकी प्रदेशको पहिचानलाई सुदृढ बनाउने उद्देश्य लिइएको छ। 

यो वर्ष अनुदान प्राप्त गर्नेमा कास्कीको दीपशिखा, पोखरा सार्वजनिक पुस्तकालय, हिमालय पुस्तकालय, बागलुङको विद्यामन्दिर, स्याङ्जाको कालिका, लक्ष्मी स्मृति, अर्जुनचौपारी, जमजुङको लक्ष्मीनारायण, भोटेओडार, मुस्ताङको थाक, तनहुँको सिन्धु, गोरखाको त्रिभुवन, नवलपुरको शिवशक्ति, नवक्षितिज र फूलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र रहेका छन्।