
अमेरिकी जनता र विश्वलाई चकित बनाउने गरी सन् २०१७ को जनवरीमा पहिलोपटक पद सम्हालेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को नीति अगाडि सारिरहेका छन् । उनले आप्रवासन नीति कडा बनाउने, प्यालेस्टिनी जनताका पक्षमा सहानुभूति राख्ने वैध बासिन्दालाई निसाना बनाउने, विविधता र समावेशिता कार्यक्रम नष्ट गर्ने, उच्च शिक्षा एवं अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्नेजस्ता कदम चालेका छन् । ट्रम्पले वास्तवमै उग्र–दक्षिणपन्थी एजेन्डा अंगीकार गरेका छन् । देशभित्र र बाहिर रहेका उनका आलोचकले उनलाई ‘फासीवादी’ भनी खुलेरै आरोप लगाएका छन् । तर, फासीवाद भने ट्रम्पको रोजाइको विचारधारा होइन । ऐतिहासिक रूपमा फासीवादी र समाजवादी आन्दोलनका राजनीतिक तथा आर्थिक दृष्टिकोण फरक–फरक भए पनि केही साझा विशेषता थिए । दुवैले राष्ट्रहितलाई सबैभन्दा माथि राख्छन् । राज्यको भूमिका समाज तथा अर्थतन्त्रमा व्यापक हुनेमा विश्वास गर्छन् । फासीवादीहरूले समाजवादी आदर्शलाई एक बलियो राष्ट्रवादी रूपरेखामा पुनः परिभाषित गर्ने प्रयास गर्छन् ।
फासीवाद, साम्यवाद र उदारवादको प्रतिक्रियाका रूपमा विकसित भएको थियो र बेलायती इतिहासकार एरिक होब्सबामले उल्लेख गरेझैँ ‘उग्रताको युग’मा सीमित एक प्रवृत्ति थियो । ट्रम्पले ‘अमेरिका फस्र्ट’ भन्ने नाराको प्रयोग गरे पनि उनले साँच्चै राष्ट्रहितका लागि नभई एक प्रतिशत धनाढ्यको स्वार्थका लागि काम गरिरहेका छन् । ट्रम्प र उनका समर्थक नवउदारवादी अर्थ–राजनीतिक व्यवस्थाभन्दा अगाडि बढ्न चाहन्छन्, अर्थात् आर्थिक समृद्धिका लागि न्यूनतम राज्यको समर्थन गर्दै उग्र–पुँजीवाद स्थापित गर्न खोज्छन्, जसमा धनीमाथि राज्यका सबै नियन्त्रण–नियमन हटाइन्छन् ।
समाजबाट नाफा निकाल्न अहिले सजिलो छैन भन्ने ट्रम्प समर्थकले बुझिरहेका छन्, त्यसैले पुँजीवादलाई उनीहरू लोकतान्त्रिक सीमा र जनताका राजनीतिक, सामाजिक एवं मानव अधिकार सुनिश्चित गर्नैपर्ने मान्यताबाट पनि मुक्त गर्न चाहन्छन् । ट्रम्पका वरिपरि रहेका प्रविधिमा आधारित धनाढ्य (टेक ब्रोज) ले यो उग्र–पुँजीवादलाई प्रविधिको आवरणमा प्रस्तुत गर्दै आएका छन् । ‘प्रविधिले सबै समस्या समाधान गर्न सक्छ र असीमित वृद्धि (धनीका लागि असीमित नाफा) प्रगतिको एक मात्र बाटो हो,’ ब्रोज भन्छन् ।
यो वैचारिक पक्ष सिलिकन भ्यालीका अर्बपति मार्क आन्द्रेसेनले प्रस्तुत गरेको ‘टेक्नो–अप्टिमिस्ट म्यानिफेस्टो’ (प्रविधि–आशावाद घोषणापत्र) मा स्पष्ट देखिन्छ र यो ट्रम्प दोस्रोपटक सत्तामा फर्किनुअघि लेखिएको थियो । प्रविधि र बजारप्रति धार्मिक आस्थाजस्तै विश्वास राख्दै उनले ‘प्रविधि–आशावादी समाज हाँसजस्तै हुन्छन्, अर्थात् उनीहरू कि हुर्किन्छन् कि मर्छन्..., हामी महŒवाकांक्षा, आक्रामकता, निरन्तरता र दृढतामा विश्वास गर्छौं..., हामी आत्मनिर्भरता र व्यक्तिगत क्षमतामा विश्वास गर्छौं..., हामी प्रकृति वा प्रविधिबाट सिर्जित हरेक भौतिक समस्याको समाधान थप प्रविधिमार्फत मात्रै सम्भव छ भन्नेमा विश्वास गर्छौं’ भनेका थिए । यो विचारधारामा अनियन्त्रित पुँजीवाद, प्रविधिबाट मानव क्षमताभन्दा माथि जान सकिने विश्वास (उत्तरमानवतावाद) र डार्बिनको ‘सबल नै बाँच्छ’ भन्ने सिद्धान्तको व्यक्तिवादी व्याख्या मिसिएको छ । यो अत्यन्त व्यक्तिकेन्द्रित दृष्टिकोण ऐतिहासिक फासीवादबाट पूर्णतः विपरीत छ किनभने फासीवादले राष्ट्र र समुदायलाई व्यक्तिगत हितभन्दा माथि राख्थ्यो ।
कतिपयले ट्रम्पका भन्सार शुल्कवृद्धि नीतिलाई उनको राष्ट्रवादी झुकावको प्रमाणका रूपमा देख्न सक्छन् । तर, यो दृष्टिकोण सतही हो, वास्तवमा उनको व्यापार युद्ध ‘रोजगार फर्काउने’, ‘राष्ट्रिय हितको रक्षा गर्ने’ वा ‘विश्वव्यापीकरण उल्ट्याउने’ उद्देश्यका लागि होइन । ट्रम्पले भन्सार शुल्क वृद्धिलाई दबाबको संयन्त्रका रूपमा प्रयोग गरिरहेका छन्, ताकि विभिन्न देशलाई उनले अनुकूल सम्झौतामा ल्याउन सकून् । जब उनले केही भन्सार शुल्कमा ९० दिनको विराम घोषणा गरे, उनले आफैँ ७५ वटा सरकार आफ्नो प्रशासनसँग सम्पर्कमा आएको भनेर गर्वसाथ बताए । र, यी देशसँगका यी द्विपक्षीय वार्ता अमेरिकी श्रमिकको अधिकार जोगाउन वा अमेरिकाभित्र निर्माण उद्योग फिर्ता ल्याउन नभई ट्रम्पसँग नजिक रहेका ठुला पुँजीपतिको फाइदाका लागि सौदाबाजी गर्न प्रयोग गरिने सम्भावना छ ।
ट्रम्पले युरोपका उत्तर–फासीवादी नेताहरूको समर्थन पाएका छन् । उनी फासीवादी शैलीको भाषा र रणनीति प्रयोग गर्छन् । तर, यसैकारणले मात्रै उनलाई ‘फासीवादी’ भन्न मिल्दैन । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीजस्ता नेता परम्परागत फासीवादी राज्य र आर्थिक दृष्टिकोणबाट टाढा सरेका छन् । उनीहरूले धनीका लागि कर छुट र गरिबका लागि सामाजिक सुरक्षा कटौतीजस्ता खुला बजार नीति अपनाएका छन्, जुन ट्रम्पका एजेन्डासँग पनि मेल खान्छन् । ट्रम्पले जातिवादी र आप्रवासीविरोधी भाषा खुलेर प्रयोग गर्दै आप्रवासीमाथि आक्रामक अभियान चलाएका छन् । उनले यो रणनीति समाजका सीमान्तकृत वर्गको भय देखाएर जनताको असन्तुष्टि धनी वर्ग नभई जातीय ‘अन्य’ तर्फ मोड्न प्रयोग गरेका छन् ।
ट्रम्पको रणनीति उदार सम्भ्रान्तप्रतिको बढ्दो आक्रोश र वामपन्थीको कमजोरीका कारण सफल भएको हो । प्रगतिशील नेता ‘ट्रम्पको फासीवाद’ र उनका समर्थकको नाजी शैलीका सलामको बहसमै अल्झिरहेका छन्, जसले समय र ऊर्जा दुवैलाई खेर फालिरहेको छ । अब वामपन्थीले ट्रम्पको लोकप्रियता र उग्र–पुँजीवादी एजेन्डाको प्रभावकारी प्रतिवाद गर्ने ठोस रणनीति बनाउनुपर्छ । रोजगारी, स्वास्थ्य, शिक्षाजस्ता जनताको मुख्य समस्या र राजनीतिप्रतिको निराशालाई सम्बोधन गर्नु जरूरी छ । यसबाहेक ट्रम्पको असली रूप अर्थात् उनी ठुला पुँजीपतिका असली प्रतिनिधि हुन् भन्ने उजागर गर्दै विश्वसनीय र व्यावहारिक विकल्प पनि दिन सक्नुपर्छ ।
(जबाला पम्प्यु फाब्रा विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक हुन् र ग्यालो इटलियन दैनिकका पूर्व–पत्रकार एवं संवाददाता हुन्)
अल जजिराबाट