१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Sunday, 11 May, 2025
२o८२ बैशाख २५ बिहीबार १o:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारत-पाकिस्तान द्वन्द्व : नेपालगन्ज नाकामा कडाइ, परिचय खुल्ने कागजात अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १o:३६:oo

भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपालगन्ज नाकामा समेत कडाइ गरिएको छ। भारतबाट पाकिस्तानी नागरिक नेपाल छिर्न सक्ने सम्भावनालाई मध्यनजर गरी नेपालगन्ज नाकामा सशस्त्र प्रहरीले परिचयपत्र अनिवार्य गरेको छ। परिचयपत्र भए–नभएको हेर्ने गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि भारतको रुपइडिहास्थित सीमा सशस्त्र बल (एसएसबी) ले परिचयपत्र अनिवार्य गरेकोमा बिहीबारदेखि सशस्त्र प्रहरी बल नेपालले पनि नेपालगन्ज नाकामा परिचयपत्र हेर्न थालेको छ। नेपाल आउनेको परिचय खुल्ने कागजात पहिले पनि हेरिन्थ्यो, तर भारत–पाकिस्तान द्वन्द्वले पाकिस्तानी नागरिक नेपाल प्रवेश गर्न सक्ने खतरालाई मध्यनजर गरी परिचय खुल्ने कागजात अनिवार्य गरिएको छ,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने। 

भारत र पाकिस्तानबिच द्वन्द्व बढेसँगै नेपाल आउने र जानेमाथि पनि भारतले कडाइ गरेको छ। परिचयपत्र भएकालाई मात्र भारत प्रवेश गर्न दिएको एसएसबीले हातहतियार तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको छ। ‘पहिलेको भन्दा पछिल्लो समय अझ धेरै कडाइ गरिएको छ। परिचय खुल्ने कागजातसँगै तालिमप्राप्त कुकुरमार्फत हातहतियार र विस्फोटक पदार्थ भए–नभएको जाँचसमेत गरिन्छ,’ एक भारतीय अधिकारीले भने। 

एसएसबीले परिचयपत्र भएकालाई मात्र नेपाल आउन र जान दिने भएकाले केही सहज भएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए। उनले भारत–पाकिस्तानबिचको द्वन्द्व चर्किँदै गएपछि नेपालतर्फ आउनेमाथि निगरानी बढाइएको बताए। ‘परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिइएको छ। परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेर मात्र आउन दिइएको छ,’ उनले भने। 

उनले दुई देशको द्वन्द्वका कारण भारत छाड्ने नेपाली फेला नपरेको बताए । ‘नेपाल आउने र जाने क्रम पहिलेको भन्दा फरक देखिएको छैन। भारत–पाकिस्तानको द्वन्द्व बढ्दै गए आउनेको संख्या बढ्न सक्ने देखिन्छ,’ प्रहरी निरीक्षक बुढाथोकीले भने ।