
युनानको एक गाउँमा एक अनाथ बालक बस्थे । उनका मातापिताको देहावसान भइसकेको थियो । परिवारमा उनी एक्ला सदस्य थिए । सानै भए पनि उनी निकै मिहिनेती र स्वावलम्बी थिए । उनी आफ्नो आवश्यकता आफैँ पूरा गर्थे । हरेक दिन जंगल जानु, दाउरा काट्नु र नजिकको सहरमा लगेर बेच्नु उनको दैनिकी थियो । त्यसैबाट उनको गुजारा चलिरहेको थियो ।
एक दिन उनी सधैँझैँ दाउरा बेच्न सहर गएका थिए । उनी जहाँ दाउराको भारी बिसाएर ग्राहकको प्रतीक्षामा थिए, त्यही बाटो हुँदै युनानकै विख्यात विद्वान् डेमोक्रिट्स कतै जाँदै थिए । उनले बालकको दाउराको भारी देखे । भारी निकै कलात्मक तरिकाले बाँधिएको थियो । उनले बालकसित सोधे– बाबु, यो भारी तिमीले नै बाँधेका हौ ? बालकले जवाफ दिए– हजुर, म हरेक दिन जंगल गएर दाउरा काट्छु र यसैगरी भारी बनाएर यहाँ आएर बेच्ने गर्छु । यसैबाट मेरो गुजारा चलिरहेको छ । डेमोक्रिट्सले भने– तिमी यो भारी खोलेर फेरि यस्तै गरी बाँध्न सक्छौ त ? बालकले भने– किन नसक्नु ? यति भनेर उनले भारी फुकाए र पुनः कलात्मक ढंगमा बडो लगन र फुर्तीसाथ बाँधेर देखाए ।
बालकको मिजास, एकाग्रता र कलात्मक शैलीमा काम गर्ने तरिका देखेर डेमोक्रिट्सले सोधे– के तिमी मसँग जान्छौ ? म तिमीलाई खानपिन र शिक्षादीक्षाको सम्पूर्ण व्यवस्था मिलाउँछु । बालकले सोचविचार गरेर आफ्नो स्वीकृति दिए र डेमोक्रिट्सको पछि लागे । डेमोक्रिट्सले ती बालकको बसोवास र शिक्षादीक्षाको उचित व्यवस्था मिलाइदिए । उनी आफैँले पनि दैनिक केही समय बालकलाई पढाउने समय मिलाए । छोटो समयमै बालकले आफ्नो लगन तथा कुशाग्रबुद्धिको बलमा उच्च शिक्षा हासिल गरे । तिनै बालक पछि गएर युनानका महान् दार्शनिक तथा गणितज्ञ पाइथागोरसका नामले विख्यात भए ।