
पूर्वसांसद एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसदबाट शोक प्रस्ताव पारित भएको छ।
बुधबार प्रतिनिधिसभाले नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। शोक प्रस्ताव पारित भएपछि सांसदहरूले एक मिनेट उठेर मौनधारण गरेका थिए।
नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा तथा २०५६ सालमा काठमाडौं जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो।
चर्चित प्रगतिशील साहित्यकारसमेत रहेका नेता नेपाल पाँच दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए। कोअर्डिनेसन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटक-पटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौँ महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक २५ गते बिहीबार बिहान ११ बजे बस्नेछ।