
नेपालमा भारत–पाकिस्तान द्वन्द्वको सुरक्षा प्रभाव कस्तो हुन सक्छ ?
भारतको पर्यटकीय गन्तव्य पहलगाममा भएको आतंकवादी आक्रमण र त्यसपछि भारतले सञ्चालन गरेको आतंकवादविरुद्धको सैन्य कारबाहीका कारण भारत–पाकिस्तान सम्बन्ध थप चिसिएको छ । दक्षिण एसियाका दुई आणविक शक्ति राष्ट्रबिचको यस्तो तनावले सम्पूर्ण क्षेत्रीय सुरक्षा परिवेशमा अस्थिरता निम्त्याएको छ, जसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न सक्छ । यस घटनाले नेपालको राष्ट्रिय सुरक्षामा बहुआयामिक चुनौती थपिदिएको छ । विशेषगरी, खुला सिमानाका कारण नेपाललाई आतंकवादी नेटवर्कका लागि ट्रान्जिट प्वाइन्ट, वित्तीय मार्ग वा सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गरिने खतरा रहन्छ ।
सुरक्षा सुदृढीकरणका लागि नेपालले के गर्नुपर्ला ?
सीमा निगरानीमा प्रविधिको प्रयोग र जनशक्ति विस्तारमा ध्यान दिनुपर्छ । भारतसँगको खुला सिमानामा सशस्त्र प्रहरी बलमार्फत उच्च सतर्कता अपनाउँदै निगरानी प्रविधि, जस्तै– सिसिटिभी, स्क्यानर, मोबाइल पेट्रोलिङ र थप मानव स्रोत परिचालन गर्नु आवश्यक छ । नेपालभित्र रहेका सम्भावित आतंकवादी सञ्जाल तथा ‘स्लिपर सेल’हरूलाई पहिचान गरी निगरानी गर्न आवश्यक छ । साथै, कूटनीतिक मिसन, धार्मिक स्थल, अन्तर्राष्ट्रिय संस्थानजस्ता संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइनुपर्छ । भिसा अवधि समाप्त भइसकेका विदेशी नागरिकलाई कानुनी प्रक्रियाअनुसार जरिवाना, निष्कासन वा कालोसूचीमा राख्ने कार्य गर्नुपर्छ । भिसा प्रक्रियामा अध्यागमन विभाग र सुरक्षा निकायबिच डेटा एकीकरण गरी भिसा प्रदान गर्दा पूर्व–सत्यापन प्रक्रियामा कडाइ गरिनुपर्छ । आतंकवादसम्बन्धी गतिविधि पहिचान, विश्लेषण र नियन्त्रणका लागि प्रहरीको विशेष शाखालाई आवश्यक स्रोतसाधन, प्रविधि, तथा अन्तरसंस्था समन्वयको अधिकारसहित सशक्त बनाउनु आवश्यक छ ।
भारत–पाकिस्तान द्वन्द्वले नेपालमा शरणार्थी बढ्न सक्छन् ?
बाह्य द्वन्द्वका कारण शरणार्थीको चाप बढ्ने जोखिम हुन्छ नै । यो नेपालका लागि गम्भीर सुरक्षा सरोकारको विषयसमेत हो । क्षेत्रीय द्वन्द्वका कारण उत्पन्न हुने शरणार्थी प्रवाहको सम्भाव्यतालाई मध्यनजर गर्दै सम्भावित प्रवेश मार्ग पहिचान गरी समयमै रोकथामका उपाय अवलम्बन गर्नु अपरिहार्य छ ।