
सांसद प्रभु साहले किसानलाई मल दिने जिम्मा प्रधानमन्त्रीको हो कि होइन भनेर प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बाली लगाउने वेला किसान मल नपाएर तड्पिरहेको उल्लेख गरे ।
बिउ छर्ने वेलामा मलको हाहाकार हुनु सरकारको लाचारीपनको पराकाष्ठा भएको उल्लेख गरे । उनले सरकारी तवरबाट होइन, पसलबाट किसानले तीन गुणा महँगोमा मल खरिद गर्नुपरेको उल्लेख गरे । उनले प्रधानमन्त्री केपी ओलीतर्फ प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीज्यू किसानलाई मलखाद दिने जिम्मा तपाईं र केन्द्र सरकारको हो कि होइन ? हो भने किन किसानमाथि अन्याय गर्नुहुन्छ ?’
नेपालको मूल आयस्रोत भनेकै कृषि पेसा भएको, तर सरकारले कृषि पेसालाई विभेदको व्यवहार गरेको उल्लेख गरे । उनले नेपालमा खेती हुने ३० लाख हेक्टर जग्गाका लागि ११ लाख मेट्रिक टन मलखाद चाहिनेमा सरकारले पाँच लाख मेट्रिक टनका लागि मात्र ठेक्का आह्वान गर्ने गरेको र तीन लाख मेट्रिक टन मात्र नेपाल आउने गरेको बताए ।
सरकारको लाचारीपनले धेरै मानिस कृषि पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आएको उल्लेख गरे ।