
प्रि–मनसुनको वर्षाले जोखिमको संकेत गरेकाे छ। सामान्य वर्षामै सडक अवरुद्धदेखि नदीले बस, काठे पुल बगाएको छ । सोमबार रातिको वर्षासँगैउदयपुरको त्रियुगा नदीमा बाढी आउँदा बस बगेको छ, कमला नदीको बाढीले पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको छ ।
बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा ढिलाइ, विस्तार भइरहेका सडक पनि अधुरै हुनु र वर्षौंदेखि पुल निर्माण नहुँदाका असर नागरिकले भोगिरहेका हुन् । चार लेनका विस्तारका नाममा पूर्व–पश्चिम राजमार्गको बुटवल–दाउन्ने सडकको १४ किलोमिटर क्षेत्र नै खनेर अस्तव्यस्त बनाएका वेला मंगलबार बिहानको वर्षाले अवरुद्ध नै बन्यो । सडक चिप्लो हुँदा अवरुद्ध भएको सडक मंगलबाट साँझबाट एकतर्फी सञ्चालन भइरहेको छ, तर आगामी बर्खामा नागरिकले कुन हदसम्मको सास्ती पाउन सक्छन् भनेर जोखिम अहिले नै देखिएको छ ।
विपत् व्यवस्थापनविज्ञ डा. धर्मराज उप्रेती प्रि–मनसुनमा खहरे र अकस्मात बाढीको जोखिम रहने भए पनि राज्यका निकायहरूले विपत् जोखिमको आकलन नगर्दा घटना हुने गरेको बताउँछन् । ‘विकास निर्माण गर्दा विपत् व्यवस्थापनको पनि योजना बनाउनुपर्छ । तर, बुटवल–दाउन्ने सडक एकैपटक पूरै खनियो, अहिले सामान्य वर्षाले पनि अवरुद्ध हुन अवस्था आयो,’ उप्रेतीले भने, ‘समयमै ठेक्का पूरा नहुँदा त्रियुगाले बस बगाएको छ । जिम्मा लिएका निकायहरू उत्तरदायी भएनन्, लापरबाहीको परिणाम अहिले घटना भइरहेका हुन् ।’ आगामी बर्खामा अझै बढी जोखिम हुन सक्ने अहिलेका घटनाले देखाएको उनी बताउँछन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार प्रि–मनसुन (मार्चदेखि मे) सम्मको हालसम्मको अवधिमा १२३.५० मिलिमिटर वर्षा भएको छ, जुन सरदरभन्दा केही धेरै हो ।
६ वर्षअघि बाढीले बगाएको त्रियुगाको पुल अझै बनेन
उदयपुरको चौदण्डीगढी नगरपालिका– ५, सिबाई र बेल्हा जोड्ने पुल ६ वर्षअघि नै बाढीले बगाएको थियो । पुल निर्माण अधुरै रहेकाले नदीमा ह्युमपाइप राखेर आवतजावतको व्यवस्थापन गरिएको थियो । तर, सोमबार रातिको वर्षासँगै भेल उर्लिएपछि ह्युमपाइपसँगै को१ख४७५३ नम्बरको बस बगेको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए । सिबाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा बस बगेर डुबेको हो । प्रहरीका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल छन् ।
चौदण्डीगढी नगरपालिका–५ का वडाध्यक्ष तुलसीराम ढकालले ढलेको पुल ६ वर्षअघि नबन्दा घटना भएको बताए । ‘हिउँदमा ह्युमपाइप लगाएर बनाएको ड्यामबाट सवारी आवतजावत गरे पनि बर्खामा त्यसै पनि बन्द हुन्छ, यसपालि वैशाखमै ह्युमपाइप बगायो,’ उनले भने, ‘बर्खामा कि ढुंगा चढेर बेल्टार बजार जानुपर्छ । कि १७ किलोमिटर दूरी पार गरेर सप्तरीको फत्तेपुर हुँदै बेल्टार जानुपर्ने बाध्यता छ ।’ यो पुल बने भन्डै २० हजार मान्छे लाभान्वित हुने उनको भनाइ छ ।
११ वटा स्पान भएको २८० मिटर लामो तथा साढे पाँच मिटर चौडाइको पुलको दुई पिलर र तीन स्ल्याब बाढीले ढलेका छन् । पुल नबन्दा चौदण्डीगढी नगरपालिका– ५, ९ र १० नम्बर वडाका झन्डै २० हजार स्थानीय मर्कामा परेका छन् । ‘पुल निर्माण हुन सकेको खण्डमा झन्डै २० हजार स्थानीय लाभान्वित हुने थिए । तर, ढलेको पुल पुनर्निर्माण हुने अझै छाँटकाँट छैन,’ चौदण्डीगढी नगरपालिका– ५ का स्थानीय महानन्द चौधरीले भने ।अर्का स्थानीय राजीव चौधरीले दैनिक करिब पाँच सय सर्वसाधारणले वारिपारि गर्ने पुल निर्माण नहुँदा सास्ती खेप्नुपरेको गुनासो गरे ।
०६७ मा महालक्ष्मी–लोकप्रिय जेभी, कलंकीले नौ करोड ७६ लाखमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको ठेक्का पाएको थियो । त्यसपछि सोही कम्पनीले पुलको लागत मूल्य समायोजन गरी ११ करोड २७ लाखमा निर्माण थालेको थियो । ‘निर्माण सम्पन्न हुनै लाग्दा असार ०७८ मा आएको बाढीले पुल ढल्यो । निर्माण सम्पन्न नहुँदै ढलेका कारण ठेक्काअनुसार निर्माण कम्पनीले नै बनाउनुपर्ने थियो । तर, बनाएन । हामीले पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले सुनुवाइ नगरेपछि ठेक्का सम्झौता रद्द गरेका छौँ,’ सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल सडक योजनाका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीले भने, ‘ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । त्यो मुद्दाको छिनोफानो नभएसम्म पुलको पुनर्निर्माण रोकिने भएको छ ।’
पुल ढलेर भएको क्षतिबापत चार करोड ५४ लाख ६६ हजार रुपैयाँ ठेकेदार कम्पनीसँग असुल गर्ने निर्णय भएको पनि उनले बताए । सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीले त्रियुगा नदीको पुल पुनर्निर्माणको काम अदालतको फैसला भएपछि मात्रै नयाँ प्रक्रियाबाट अघि बढ्ने बताए ।
कमलामा १३ वर्षमा पनि पक्की पुल बनेन, ठेक्का तोड्ने तयारी
कमला नदीको बाढीले मंगलबार हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने बाँसको अस्थायी पुल बगाएपछि मोटरसाइकल, साइकल तथा पैदलयात्रुको आवतजावत ठप्प भएको छ । सिराहा नगरपालिका–६ बसबिट्टा र धनुषाको कमला नगरपालिका–५ जोड्ने कमला पुल १३ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि हरेक वर्ष सुक्खायामका ६ महिना अस्थायी राखिँदै आएको छ । ‘बाँसको पुल हुँदा कम्तीमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई वारपार गर्न सहज थियो,’ सिराहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, ‘अस्थायी पुलसमेत बाढीले बगाएपछि हिम्मत गर्ने पैदलयात्री पुलको उत्तरतर्फ बनाइएको बाँसको भर्याङबाट जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।’ राज्यको उपेक्षाको कारण कमला नदीमा सिराहा–धनुषा जोड्ने पुल अलपत्रसरह हुँदा त्यसको मार स्थानीयले भोग्नुपरिरहेको स्थानीय बद्रीनारायण यादवले गुनासो गरे । पुल बन्न थालेको १३ वर्ष बित्दै गर्दासमेत पुल निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा हरेक वर्ष सास्ती भोग्न विवश रहेको उनले बताए ।
१३ वर्षसम्म पनि पुल निर्माण सम्पन्न नभएपछि ठेक्का तोड्ने तयारी थालिएको छ । जनकपुरधामस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रंजितकुमार रायले अन्तिमपटकका लागि थप भएको म्याद सकिनै लाग्दा ठेकेदार कम्पनीले काम नै रोकेपछि ठेक्का तोड्ने तयारी रहेको बताए । ‘लुम्बिनी बिल्डर्सले बर्खाअघि काम सक्ने भनेको थियो । तर, एक महिनादेखि काम रोकेको छ,’ उनले भने, ‘ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गर्छाेैँ ।’
ठेक्का सम्झौताअनुसार कमला पुल ११ वर्षअगावै निर्माण सम्पन्न भई सञ्चालन भइसक्नुपर्ने थियो । तर, पटक–पटक म्याद थपिएर नदी नियन्त्रण र पहुँच मार्गबाहेक पुलको अन्तिम चरणको निर्माण चलिरहेका वेला १७ असार ०७८ मा बाढीले पुलको सिराहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएको थियो । पाया भासिएपछि सिराहातर्फ गत पुसको तेस्रो सातादेखि थालिएको मर्मत कार्य करिब एक महिनादेखि रोकिएको छ । बिल्डर्सले भासिएको पायाको करिब आठ करोड रुपैयाँ बिमा रकम नपाएको भन्दै काम रोकेको जानकारी प्राप्त भएको रायले बताए ।
कमला पुलको पूर्वपट्टि भासिएको दोस्रो पायाको ठाउँमा डिजाइन परिवर्तन स्वीकृत भएपछि गत आर्थिक वर्ष ०८०÷८१ मा नयाँ पाया थप गरी दुईवटा पुर्याइएको थियो । ‘त्यसमध्ये एउटाको सुपरस्ट्रक्चरको निर्माण थालिएको छ,’ उनले भने । उनका अनुसार कुल १२ वटा स्पान र १३ पिल्लर रहेको पुलको पूर्वपट्टि भासिएको पायाको डिजाइन परिवर्तनपछि तीनवटा पिल्लरको सट्टा एउटै पिल्लर बनाएर १२ वटा फलामको बिममा दुईवटा स्ल्याब राखिने, तर पश्चिमतर्फ भासिएको पायाको माटो परीक्षणपछि डिजाइन स्वीकृत भए पनि निर्माण व्यवसायीले काम थालेका थिएनन् ।
कमला नदीमा ४६९.२ मिटर पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माणसम्पन्न गर्नुपर्ने थियो । तर, म्याद पटक–पटक थप हुँदै अन्तिमपटक भएको सम्झौताअनुसार ३० असार ०८० तोकिएको थियो । पप्पु–लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो । २४ वैशाख ०८० मा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबिच ०८१ असार मसान्तसम्म भासिएको पुलको निर्माणसम्पन्न गर्ने सम्झौता भएको थियो ।