
ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भएको भिसा तथा मास्टर कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकले नेपालमा इकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टले देश–विदेशबाट सहज रूपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् इकमर्स कारोबार गर्ने ट्राभल तथा टुर एजेन्सी, होटेल, एयरलाइन्स, हस्पिटललगायतका व्यवसाय लाभान्वित हुने बताइएको छ ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानी प्राप्ति सहज बनाउने भएकाले बैंकका मर्चेन्टको व्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत हुने कारोबार थप सुरक्षित हुने बैंकको भनाइ छ ।