
विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब मकवानपुरमा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । मंगलबार हेटौँडा ६ स्थित गौरीटार रंगशालामा भएको सेमिफाइनलमा विजयी हुँदै दुई विभागीय टोली फाइनलमा स्थान बनाएका हुन् । एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको संकटाको महिला टोलीलाई २–० ले हरायो । त्यस्तै, पहिलो सेमिफाइनलमा पुलिसले चितवनलाई ७–० ले हराएको हो ।
यसअघि पुलिस र एपिएफले लगातार दुई प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । समग्रमा दुई टोलीबिच पछिल्लो चार महिनामा तीन पटक उपाधि भिडन्त भएको छ । राष्ट्रिय महिला लिग, नेपालगन्जमा अन्तरालले आयोजना गरेको लुम्बिनी कप, नुवाकोटमा भएको बागमती कपको फाइनलमा पुलिसलाई हराउँदै एपिएफ नै च्याम्पियन भएको थियो । राष्ट्रिय टोलीका एक दर्जनभन्दा बढी खेलाडी अनुबन्ध गरेको एपिएफ ०७९ सालपछि कुनै पनि प्रतियोगितामा पराजित भएको छैन । पछिल्लो दुई फाइनलमा पुलिसले एपिएफलाई ९० मिनेटसम्म रोके पनि इन्जुरी समयमा पराजित हुँदै आएको छ । बिहीबार हुने फाइनल खेलमा पनि पुलिस एपिएफलाई रोक्ने योजनामा भएको प्रशिक्षक भोलानाथ सिलवालले जानकारी गराए । यता, एपिएफका प्रशिक्षक जीवेशकुमार पौडेल पनि लगातार उपाधि उचाल्ने मनसायमा छन् ।
रश्मि र अनिताको गोल
संकटाविरुद्ध एपिएफले गोलका लागि निकै संघर्ष गर्नुप¥यो । एपिएफको जितमा रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरेका हुन् । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दुवै गोल दोस्रो हाफको अन्तिममा सम्भव भयो । एपिएफको जितमा रश्मिले खेलको ७१औँ मिनेटमा अग्रता बनाइन् । रश्मिले कप्तान अनिता बस्नेतको कर्नरलाई हेड गर्दै गोल गरिन् । योसँगै प्रतियोगितामा उनको ६ गोल भएको छ । यसअघि पहिलो खेलमा उनले पाँच गोल गरेकी थिइन् । पाँच मिनेटपछि नै अनिता केसीले दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरेको हो । केसीले पनि बस्नेतकै पासमा गोल गरेकी हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी मिडफिल्डर रेनुका नगरकोटी प्लेयर अफ दी म्याच घोषित हुँदा १० हजार रुपैयाँ प्राप्त गर्न सफल भइन् ।
पुलिसको जितमा मीना चम्किइन्
युवा अट्याकर मीना देउवा चम्किएपछि पुलिसले चितवनविरुद्ध ७–० को फराकिलो जित निकाल्यो । पुलिसको जितमा मीना र निर्मला उपाध्यायले ह्याट्रिक गरेका थिए । मीनाले खेलको २१औँ, ४०औँ र ५९औँ मिनेटमा ह्याट्रिक गरिन् । निर्मलाले खेलको ३४औँ, ६६औँ र ८०औँ मिनेटमा गोल गरेकी हुन् । पुलिसका लागि थप एक गोल खेलको ४५औँ मिनेटमा सुष्मा तामाङले गरिन् । मीना नै खेलको प्लेयर अफ दी म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा आठ टिम सहभागी छन् । विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगद पाउने आयोजकले जनाएको छ ।