
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा करिब ६ महिनाअघि बनाइएको बाँसको अस्थायी पुल मंगलबार आएको बाढीले बगाएपछि आवतजावत ठप्प भएको छ।
बाढीले अस्थायी पुल बगाएपछि मोटरसाइकल, साइकल तथा पैदलयात्रुहरूको समेत आवतजावत बन्द भएको हो। सिरहा नगरपालिका– ६ बसबिट्टा र धनुषाको कमला नगरपालिका– ५ जोड्ने कमला पुलको दक्षिणतर्फ बाँसमा प्लाई राखेर १७ कात्तिकदेखि संचालन गरिएको अस्थायी पुल सोमबार रातीदेखिको वर्षासँगै आएको बाढीले बगाएको हो।
‘बाँसको पुल हुँदा कम्तिमा मोटरसाइकल, साइकल र पैदाल यात्रुलाई वारपार गर्न सहज थियो,’ सिरहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, ‘अस्थायी पुलसमेत बाढीले बगाएपछि हिम्मत गर्ने पैदलयात्रीहरु पुलको उत्तरतर्फ बनाइएको बाँसको भर्याङबाट जोखिम मोलेर आवातजावत गर्न बाध्य छन्।’
ठेक्का तोड्ने तयारी
राज्यको उपेक्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडकअन्तर्गत कमला नदीमा सिरहा–धनुषा जोड्ने पुल अलपत्र हुँदा त्यसको मार स्थानीयले भोग्नु परिरहेको स्थानीय बद्रीनारायण यादवले गुनासो गरे। पुल बन्न थालेको १३ वर्ष बित्दै गर्दा समेत पुल निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा सधैँ सास्ती भोग्न विवश रहेका उनले बताए।
ठेक्का सम्झौताअनुसार कमला पुल ११ वर्ष अगावै निर्माण सम्पन्न भई संचालन भइसक्नु पथ्र्यो। पटकपटक म्याद थप गरी नदी नियन्त्रण र पहुँच मार्गबाहेक पुलको अन्तिम चरणको निर्माण चलिरहेका बेला १७ असार २०७८ मा बाढीले पुलको सिरहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएको थियो।
पाया भासिएपछि सिरहातर्फ गत पुसको तेस्रो सातादेखि थालिएको मर्मत कार्य समेत वैसाखको पहिलो सातादेखि रोकिएपछि ठेक्का तोड्ने प्रकृया अगाडि बढाएको जनकपुरधामस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रंजितकुमार रायले जानकारी दिए। उनका अनुसार कमला पुलको डिजाइन र निर्माण दुवै काम गर्दै आएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले बर्खा लाग्नु अघि काम सक्ने भन्दै आएपनि काम रोकेपछि ठेक्का तोड्ने प्रकृया अगाडि थालिएको हो।
‘ठेक्का तोडिएसँगै व्यवसायीलाई कालोसूचीमा राखिनुका साथै जरिबाना असुलिने छ,’ उनले भने। उनका अनुसार बिल्डर्सलाई पुल पुनःनिर्माण सम्पन्न गर्न अन्तिम पटकका लागि २०८२ असारसम्मको म्याद थप गरिएको थियो।
नयाँ पुल बनाउने उधारो सहमति
वर्षौैदेखि मुलुकका प्रधानमन्त्री, विभागीय मन्त्री तथा सिराहा र धनुषाका सांसद्हरुले पटकपटक स्थलगत अनुगमनपछि ‘अब पुल निर्माण सम्पन्न हुन्छ’ भन्ने आश्वासनले दिक्क भएका स्थानीय युवाहरुले प्राविधिक रुपले पनि पुल पुनःनिर्माण नहुने ठहरसहित कमलामा नयाँ पुल निर्माणको माग गर्दै कमला पुल निर्माण संघर्ष समितिको आह्वानमा मुख्यमन्त्री कार्यालय अगाडि चार दिनसम्म आमरण अनसन भएको थियो। सिराहा र धनुषाका १० युवाहरु मुख्यमन्त्री कार्यालय अगाडि गत ४ भदौदेखि आमरण अनशनमा बसेको चौथो दिन ७ भदौमा मुख्यमन्त्री सतिशकुमार सिंहसँग चारबुँदे सम्झौता भएको थियो।
सम्झौताअनुसार कमलामा नयाँ पुल निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा व्यवस्था गर्न संघीय सरकारसँग पहल गर्ने, त्यो सम्भव नभए सम्पूर्ण बजेट प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, १ मंसिर २०८१ भित्र नयाँ पुल निर्माणका लागि डिपीआर तयारी गर्न बोलपत्र आह्वान गर्ने उल्लेख थियो। तर निर्देशनालयले प्रदेश सरकारले गरेको सम्झौता र कामको विषयमा अनभिज्ञता जनाएको छ।
कमला नदीमा चार सय ६९.२ मिटर लामो पुल बनाउन ३१ जेठ २०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर २०७१ सम्म निर्माण सम्पन्न गर्ने म्याद पटक–पटक थप हुँदै अन्तिम पटक भएको सम्झौताअनुसार ३० असार २०८० तोकिएको थियो। पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो। २४ वैशाख २०८० मा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबीच २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो।