
नेकपा (माओवादी केन्द्र)को ‘मध्यपहाडी लोकमार्ग अभियान’ २ जेठदेखि सुरु हुने भएको छ। आइतबार खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को समीक्षा भएको थियो। अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको भन्दै माओवादीले उक्त अभियान पार्टीको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न सफल भएको दाबी गरेको छ।
बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, ‘मध्यपहाडी लोकमार्ग अभियान’को तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।