
उदयपुरमा चट्याङ लागेर घर जल्दा पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार रौतामाई गाउँपालिका–५ ढुकुरचुङका चक्रबहादुर राईको घर चट्याङले जल्दा करिब पाँच लाख ५० हजारको क्षति भएको हो।
गएराति वर्षासँगै परेको चट्याङले घरमा आगो लागेपछि घरका सबै मान्छे भाग्न सफल भएका थिए। ‘आगोले पीडित राईको ढुंगामाटोले बनेको टिनको छानो भएको दुई घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, बाख्राको खोर, सुँगुरको खोर र एउटा सुँगुरी जलेर नष्ट भएको छ,’ डिएसपी दोङले भने।
पानीका कारण आगो आफैँ नियन्त्रणमा आएको स्थानीयले जानकारी दिएका प्रहरीले जनाएको छ। घटना सम्बन्धमा अनुसन्धान र क्षति मूल्यांकन अस्थाई प्रहरी पोस्ट रौतापोखरीले गरिरहेको छ।