
धनुषाको सहिदनगर नगरपालिका– ५ वासुदेवपट्टि गाउँमा विष सेवनपछि मृत्यु भएका तीन बालबालिकाकी आमाको पनि शुक्रबार बिहान मृत्यु भएको छ ।
सहिदनगर नगरपालिका– ५ वासुदेवपट्टी गाउँका सुशील साहकी करिब ३० वर्षीया श्रीमती पविता साहको स्थानीय रामजानकी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान पौने १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार उपचारको क्रममा आमाको पनि मृत्यु भएपछि प्रहरीले कानुनी कागजात तयारीसहित प्रक्रिया पुर्याएर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी गरिरहेको छ ।
वासुदेवपट्टी गाउँस्थित घरको कोठामा गत सोमबार साँझ तीन छोराछोरीसहित आमा पवितासमेत गहुँमा छर्किने विषादी सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल आफन्तले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । अस्पताल पुर्याएको एक घण्टा नबित्दै ६ वर्षीय छोरा आदित्य, छोरीहरू चार वर्षीया आकृति र दुई वर्षीया आरुसीको मृत्यु भएको थियो ।
विष सेवन गरेर गम्भीर अवस्थामा पुगेकी आमाको उपचारसँगै शल्यक्रिया गरेर शिशु निकालेपछि प्रादेशिक अस्पतालमा भेन्टिरलेटर खाली नहुँदा परिवारको सल्लाहमा स्थानीय रामजानकी अस्पतालमा रेफर गरी नवजात शिशु र महिलाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैँ पनि सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सिंहले मातहतको इलाका प्रहरी कार्यालय यदुकुहामार्फत घटनाबारे सोधपुछसहित अनुसन्धान भइरहेको बताए । उनका अनुसार शल्यक्रिया गरी निकालिएका नवजात शिशुको अवस्था सामान्य रहेको छ ।
उक्त घटनापछि माइती पक्षले छोरीलाई मानसिक तनाव दिएपछि विष सेवन गर्नुपर्ने अवस्थामा पुर्याउन बाध्य बनाएको आरोप लगाउँदै आएको छ ।
गाउँमा कुटानी पिसानी मिल, खेतीपाती, धानको खरिद–बिक्री, दुई थान ट्याक्टर रहेका साह परिवारका कान्छा छोरा रहेका पविताकी श्रीमान् सुशील दाजु सुनीलसँग मिलेर खेतीपाती र व्यवसायमा संलग्न थिए । करिब एक दशकअघि विवाह गरेका साहदम्पतीको पहिलो सन्तान छोरा तथा दोस्रो र तेस्रो छोरीपछि गर्भको चौथो सन्तानको जाँच गराउँदा उल्टो रहेको थाहा पाएपछि उनी केही मानसिक तनावमा रहेको छिमेकीहरू बताउँछन् ।
चिकित्सकले वैशाख महिनामै प्रसूति हुने किटान गरिदिएकाले उनले करिब एक साताअघि पेट दुखेपछि ठुलो अस्पताल पुगेर चेकजाँच गर्न भनिरहेको, तर परिवारले गहुँ भित्र्याएर जाने बताइरहेका वेला उक्त घटना भएको छिमेकीले सुनाए ।