१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
२o८२ बैशाख ११ बिहीबार १७:२६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सुदीपको त्रिवेणी घाटमा गरियो अन्त्येष्टि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १७:२६:oo

भारतको जम्मु-कस्मिरको पहलगाममा आतंकवादी समूहको आक्रमणबाट ज्यान गुमाएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको बिहीबार नवलपरासीको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ। त्रिवेणी घाटमा सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका थिए।

 बुटवलबाट शनिबार आमा, बैनी र बैनीज्वाइसहित घुमघामका लागि भ्रमणमा निस्किएका सुदीप मंगलबार आतंकवादी समूहको आक्रमणमा मारिएका थिए। सुदीपको शव बिहीबार नेपाल ल्याइएको थियो। सुदीप मंगलबार भएको आतंकवादी आक्रमणमा परेर ज्यान गुमाउने २६ जनामध्ये एक हुन्। बिहीबार बिहान भारतीय पक्षले सुनौलीमा सुदीपको शव उनको परिवारलाई बुझाएको थियो।

 बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो। त्यहाँबाट एम्बुलेन्समार्फत नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो।

रुपन्देहीको (सुनौली) बेलहिया भैरहवा नाकामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसहितका जनप्रतिनिधि, सुरक्षाकर्मीसहितको टोलि बिहीबार बिहान सुनौली  पुगेको थियो। भारततर्फबाट ल्याएको शव भारतीय टोलीले आफ्न्तलाई जिम्मा लगाएको थियो।  

शव बुझेर बुटवल ११ होराइजन टोल मनकामना पथस्थित सुदीपको घरमा ल्याउँदा आफ्न्तजनदेखि बुटवलका स्थानीय वासिन्दाको ठुलो उपस्थिति शोकमा डुबेको  थियो । शोकमा डुबेका आफ्न्तजन तथा स्थानीयले अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेपछि सुदीपको शव दाहासस्कारका लागि त्रिवेणी लगिएको थियो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एउटा आशालाग्दो युवालाई भारी मनका साथ विदा गर्नु परेको भन्दै घट्ना साह्रै पीडादायी रहेको बताए । त्रिवेणीमा दाहसस्कारपछि फर्किन लागेको सुदीपका काका नाता पर्ने बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए । उनका अनुसार सुदीपको काजक्रिया सुदीपका काका कपिलदेव न्यौपाने (कृष्ण) ले  गर्ने छन् ।

आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुख्र्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।

छिमेकी अमृत भुसालका अनुसार, सुदीपले पहिले ‘हेल्थ एसिस्टेन्ट’ पढेका थिए, त्यसपछि पब्लिक हेल्थ पढ्दै आएका उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । ‘विदेश जान्न, स्वदेशमै केही गर्छु’ भन्ने युवाको मृत्युले अहिले बुटवल शोकाकुल भएको उनी बताउँछन् । शिक्षण पेशामा आवद्ध बुबा ध्रुव (कौशलराज) न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको मृत्युको अप्रिय खबर सुनेका थिए ।

भारतको जम्मुकश्मिरको पहलगाम स्थीत हिउँ खेल्ने ठाउँमा मंगलवार एक्कासी आएका बन्दुकधारीले एकाएक आक्रमण गरेका थिए । आक्रमणबाट सुदीपकी आमा , बैनी तथा ज्वाई जोगिएका थिए । आक्रमण कारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली होनेपछि सुदीपको ज्यान गएको थियो । सुदीप रिमाका एक्ला छोरा हुन् ।

भाग्ने क्रममा रिमालाई पनि चोट लागेको तर सामान्य रहेको थियो । पहलगामस्थित पर्यटकीय क्षेत्रमा आमा रिमा, बहिनी सुष्मा र ज्वाइँसँग सुदीप  घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले एक्कासी आक्रमण गरेका थिए ।

स्वदेशमै बस्ने र सामाजिक काम गर्नमा रुचि राख्थे सुदीप

पब्लिक हेल्थमा धरानमा स्नातक अध्यानरत सुदीप सामाजिक काममा बढी रुचि राख्थे । उनी स्वदेशमै काम गर्नुपर्छ भन्ने मान्यता राख्थे । उनका आफ्न्त तथा साथिभाइहरुका अनुसार ग्रामिण क्षेत्रमा काम गर्न सधै अगाडी सर्थे ।
बुटवलस्थीत आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसाल सुदीपले एच ए को अध्यानपछि नै सामाजिक काममा पाइला सार्न थालेका थिए । स्नातक अध्यान गर्दै गर्दा सुदीपसग विभिन्न सामाजिक काममा सहकार्य गरेको अमृतले बताए ।

उनी निकै मिलनसार, मिहिनेती हुन्, स्वास्थ्य सम्वन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम सहकार्यमा गरिएको छ, उनले भने, नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता राख्थे, उनीसग धेरै सहकार्य गर्ने इच्छा आतंककारीहरुले तोडिदिए । घट्ना थाहापाएपछि धेरै दुःख लाग्यो, एउटा इमान्दार नेपालीसहित २६ जनाको ज्यान जाने घट्नाको जति निन्दा गरेपनि कम हुन्छ, ।

अमृतका अनुसार पछिल्लो समय सुदीपले भैरहवाका केही विद्यालयहरु तथा प्यूठानको ग्रामिण क्षेत्रमा स्वस्थ्य सचेतना सम्वन्धी काम गरेका थिए । काठमाण्डौंमा स्वास्थ्य शिक्षा सम्वन्धमा काम गर्न सहकार्यको कुरा अगाडी बढेको अबस्थामा यो घट्नाले निकै दुखी बनाएको अमृतले बताए ।