
धनकुटा बजारका विभिन्न स्थानमा शृंखलाबद्ध ररूपमा चोरी गर्दै आएका एक युवालाई प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले पत्रकार सम्मेलनमार्फत चोरीको घटनामा संलग्न धनकुटा नगरपालिका– १० पात्लेका २६ वर्षीय सोभित खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
आरोपित खड्काले धनकुटा बजारको रिचमन्ड मार्ट, सहकारी संस्था, मनी ट्रान्सफर, किराना पसल र सरकारी कार्यालयमा विभिन्न मितिमा ढोका तथा सटर फोडेर जिन्सी तथा नगद चोरी गरेका थिए ।
धनकुटा बजारमा शृंखलाबद्ध रूपमा चोरीको घटना बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको थियो । चोरीमा घटनामा संलग्नलाई खोजी गर्ने क्रममा आरोपित खड्कालाई धरानबाट वैशाख ९ गते पक्राउ गरी पत्रकार सम्मेलनमार्फत चोरिएको सामान र चोरी गर्न प्रयोग गरिएको सामानसहित सार्वजनिक गरिएको हो ।
चोरीमा संलग्न आरोपित खड्कालाई प्रहरीले खोजी गरेको भन्ने सूचना उनले थाहा पाएपछि उनी भागेर धरान पुगेको र इलाका प्रहरी कार्यालय धरानको समन्वयमा उनलाई पक्राउ गरी धनकुटा ल्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले बताए ।
उनलाई मुलुकी अपराध संहिताको २०७४ को परिच्छेद २० अन्तर्गत चोरीसम्बन्धी कसुरमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अगाडि बढाएको एसपी चौधरीले बताए । चोरीमा संलग्न खड्काले २०८० चैत २ गते धनकुटा नगरपालिका– ४ स्थित सडक डिभिजन कार्यालय धनकुटाको क्वार्टरबाट एसर कम्पनीको एकवटा र डेल कम्पनीको एकवटा ल्यापटप र चार्जर चोरी गरेका थिए ।
त्यस्तै, २०८० चैत १८ गते धनकुटा नगरपालिका– ७ स्थित साथी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट नगद रु. २९ हजार ४७० रुपैयाँ र सोही दिन धनकुटा नगरपालिका– ६ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयबाट नगद रु. १० हजार २७० रुपैयाँ चोरी गरेको एसपी चौधरीले बताए ।
त्यसैगरी, २०८२ वैशाख २ गते धनकुटा नगरपालिका– ५ स्थित रिचमन्ड मार्टको ढोकाको चाबी फोडेर नगद रु. २७ हजार ६२० रुपैयाँ र बाहिर जडान गरिएको एक थान सिसी क्यामेरा, क्यामेराको डिभिआर बक्स चोरी गरेका थिए भने वैशाख ७ गते धनकुटा नगरपालिका– ६ शिवपार्कछेउ कान्तिपुर एयर ट्राभल्स एन्ड टुर्स प्रालिको सटर फोडेर नगद रु. ९५ हजार, हस्ताक्षर गरिएको ६ वटा चेक र सिसी क्यामेराको डिभिआर बक्स चोरी गरेको प्रहरीले बताएको छ ।
पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न खड्काले चोरीमा प्रयोग गर्दै आएको विभिन्न सामानहरू पनि प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बरामद गरेको सामानमा एकवटा कालो झोला, एक थान कालो ज्याकेट, एक जोर रातो–सेतो जुत्ता बरामद गरेको छ भने औजारमा रेन्च, ह्यामर, पेचकस, टर्चलाइट, ह्याक्सो ब्लेड, सर्जिकल कैची एक–एकवटा र बोल्टकटर दुईवटा बरामद गरिएको प्रहरीले बताएको छ ।
खड्काले चोरी गरेको ल्यापटप खरिद गर्ने धनकुटा नगरपालिका– ६ बिचबजारका २४ वर्षीय सुनील श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरीको ल्यापटप भएको थाहा पाएर पनि सस्तोमा श्रेष्ठले खरिद गरेको थाहा पाएपछि उनी पनि घटनामा संलग्न भएको आशंकामा अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।