१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
२o८२ बैशाख ११ बिहीबार १२:५o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण २० प्रतिशत सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १२:५o:oo

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका– १५ स्थित संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माण गरिरहेको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिएर काम अघि बढाएको थियो ।

हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चारवटा ‘प्यारापिट’मध्ये एउटाको ढलाइ सम्पन्न गरिएको छ । अर्को ढलानको तयारीमा छ ।

दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनको भनाइ छ ।

गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । ०८३ पुस २२ गतेसम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको हो ।

गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रंगशाला निर्माणका लागि संघीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड उपलब्ध गराइसकेका छन् ।

प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रंगशालाको काम अघि बढेको हो ।

अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार रंगशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिनेछ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कट्ठा जमिनमा रंगशाला निर्माण भइरहेको छ ।

गर्मी भएकाले साँझ र रात्रिकालीन समयमा समेत खेल खेलाउन बत्तीको व्यवस्था गर्न महानगरपालिकाले संघीय सरकारसँग अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताइन् । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनले जानकारी दिइन् ।