१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नथाली क्याब्रोल
Invalid date format ११:o४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘के २–१८ बी’ ग्रहमा जीवन छ ?

Read Time : > 2 मिनेट
नथाली क्याब्रोल
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

जीवनको पुष्टि नभए पनि के २–१८ बी खोजले बाह्य ग्रहमा जीवनयोग्य वातावरणको सम्भावनासम्बन्धी परिकल्पनालाई विस्तार गरेको छ

न्तरिक्ष जीवविज्ञान पछिल्ला दशकमा नयाँ र रोमाञ्चक चरणमा प्रवेश गरेको छ । सन् १९९० यता वैज्ञानिकले सौर्यमण्डलबाहिरका ग्रह (एक्सोप्लानेट) पत्ता लगाउँदै ती ग्रहको विशेषता अध्ययन गर्न थालेका छन् । धेरै ग्रह जीवनयोग्य क्षेत्रमा परेका छन्, जसले जीवन टिक्न सक्ने सम्भावना जनाउँछ । हालै पत्ता लागेका समुद्री सतह र हाइड्रोजनयुक्त वातावरण हुने ‘हायसियन ग्रह’ जीवनसँग सम्बन्धित ग्यासको खोजका लागि विशेष चासोका विषय बनेका छन् । यस्ता खोजले जीवन सम्भव हुने वातावरणको परिकल्पनालाई फराकिलो बनाएका छन् ।

यही पृष्ठभूमिमा जेम्स वेब अन्तरिक्ष दूरबिनले हालै अवलोकन गरेको ग्रह ‘के२–१८बी’ विशेष महत्वको छ । यो ग्रह पृथ्वीबाट एक सय २४ प्रकाश वर्ष टाढा रहेको रेड ड्वार्फवरिपरि घुमिरहेको छ । अघिल्लो साता एस्ट्रोफिजिकल जर्नल लेटर्समा निकु मधुसूदनको नेतृत्वमा गरिएको एक अध्ययनले डाइमिथाइल सल्फाइड (डिएमएस) वा डाइमिथाइल डाइसल्फाइड (डिएमडिएस) ग्यासको सम्भावित उपस्थिति देखाएको दाबी गर्छ, जुन ग्यास पृथ्वीमा जीवित जीवद्वारा उत्पादित हुने गरेका छन् । उसो त मिडियाले यसलाई जीवनको सम्भावना भएको भन्दै आकर्षक बनाउने प्रयास गरे पनि यो अध्ययनको मुख्य योगदान सम्भवतः यो होइन । अध्ययनले नै पत्ता लागेको संकेत कमजोर छ र अन्य अनुसन्धानले ती दाबीलाई खण्डन गर्न सक्छन् ।

तर, सुरुमा किन यी नतिजा उत्साहजनक हुन सक्छन् भन्ने बुझौँ । अन्तरिक्ष जीववैज्ञानिकले डिएमएस र डिएमडिएसलाई सम्भावित जैविक हस्ताक्षरका रूपमा लिन्छन्, विशेषतः हाइड्रोजन प्रधान वायुमण्डल भएका ग्रहमा । पृथ्वीमा समुद्री सूक्ष्मजीवले मुख्य रूपमा डिएमएस उत्पादन गर्छन् । वैज्ञानिकले उच्च सल्फरयुक्त वातावरणमा जीवन टिक्न सक्ने सम्भावनाको सिद्धान्तमा डिएमएसलाई समावेश गर्छन् । तर, यस्ता ग्यास गैरजैविक प्रक्रियाबाट पनि बन्न सक्ने कुरा पुष्टि भइसकेको छ । उदाहरणका लागि हाइड्रोजन सल्फाइड र मिथेन समृद्ध वातावरणमा प्रकाश वा विद्युत् सर्जमार्फत यस्तो ग्यास बन्न सक्छ । यस्ता प्रक्रियाबाट डिएमएस वा डिएमडिएस थोरै मात्रामा बन्ने प्रमाण प्रयोगशालामा देखिएको छ र यी ग्यासको आयु पनि छोटो हुने गर्छ ।

तर, के२–१८बीमा यति धेरै मात्रामा यी ग्यास गैरजैविक प्रक्रियाबाट बनाउनु गाह्रो हुन्छ । अध्ययनअनुसार हाइड्रोजन सल्फाइडको अनुपस्थितिले यस्तो गैरजैविक प्रक्रियालाई कठिन बनाउँछ, किनकि सल्फाइड यस्ता रासायनिक प्रक्रियाका लागि आधारभूत तत्व हो । तर, वैज्ञानिकले जीवन नहुन पनि सक्छ भन्ने देखाएका छन्, किनभने पुच्छ्रेतारामा पनि डिएमएस पत्ता लागेको थियो । डिएमएस वा डिएमडिएसको उपस्थिति चाखलाग्दो भए पनि यो निष्कर्ष अन्तिम भने होइन । यी दुई अणुका अवरक्त संकेत मिल्ने भएकाले उपकरणले स्पष्ट छुट्याउन सक्दैनन् । त्यसैगरी पत्ता लागेको संकेतको स्तरमा त्रुटिगत नतिजाको संकेत नकार्न सकिँदैन । अर्को महत्वपूर्ण कमजोरी ग्रहको वातावरण र सतहसम्बन्धी आवश्यक सन्दर्भ जानकारी अझै छैन भन्ने पनि । के के२–१८बीमा सतह छ वा छैन, पानी छ वा छैन अझै यकिन भएको छैन ।

यस्तो सन्दर्भ जानकारी विज्ञानमा अत्यन्तै महत्वपूर्ण हुन्छ । जीवन वातावरणसँग सँगसँगै विकसित हुन्छ, त्यसैले ग्रहको वातावरणबारे थाहा नभएको अवस्थामा कुनै संकेतलाई ‘जीवनको प्रमाण’ भन्न गाह्रो हुन्छ । हाम्रो सौर्यमण्डलभित्र यसबारे बुझ्न जटिल छ भने एक्सोप्लानेटका हकमा त अझै कठिन छ, किनभने हामी तिनलाई टाढाबाट मात्र हेर्न सक्छौँ । त्यसैले, प्रदूषणजन्य ग्यास जुन औद्योगिक वा प्रविधिमूलक प्रक्रियाबाट मात्रै बन्छन्, ती जीवनको सबभन्दा ठोस सम्भावित प्रमाण हुन सक्छन् । तर डिएमएस र डिएमडिएस त्यस्ता ग्यास होइनन्, त्यसैले तिनका हकमा हामी अझै द्विविधामा छौँ ।

यद्यपि यो अध्ययनले जीवनको सम्भावनाभन्दा पनि ठुलो काम गरेको छ, अर्थात् यसले वर्तमान प्रविधिको सीमाभन्दा पर पुग्ने अध्ययन पद्धति प्रस्तुत गरेको छ । कतिपयले यो हदभन्दा टाढा पुगेको भन्लान्, तर यसले भविष्यमा कसरी अध्ययन अगाडि बढाउन सकिन्छ भन्ने दिशानिर्देश गरेको छ । उदाहरणका लागि, अध्ययनले डिएमएस वा डिएमडिएसको मात्रालाई गैरजैविक प्रक्रियाबाट सम्भव छैन भनेको छ, जसले यस्ता प्रक्रिया सम्भव छन् कि छैनन् भन्ने थप अनुसन्धानको माग गर्छ । यसका लागि सिद्धान्त, प्रयोगशाला र प्रयोगात्मक तहमा काम गर्नु आवश्यक छ । अध्ययनले पनि ‘समर्पित वैज्ञानिक समुदायको सामूहिक प्रयास’ आवश्यक रहेको उल्लेख गरेको छ । तर, जबसम्म गैरजैविक प्रक्रियाबाट यस्ता ग्यास बन्ने सम्भावना पूर्ण रूपमा नकार्न सकिँदैन, तबसम्म यस्ता ग्यास देखेर त्यहाँ जीवन छ भन्नु हतारो हुनेछ ।

यद्यपि, अध्ययनले बारम्बार आफ्नो निष्कर्ष प्रारम्भिक भएको र थप प्रमाण आवश्यक भएको बताएको छ । र, प्रमुख वैज्ञानिकका केही सार्वजनिक अभिव्यक्तिले कहिलेकाहीँ प्रकाशित प्रमाणभन्दा बढी आत्मविश्वास देखाउँछन् । यस्तो हुँदा हामी एउटा महत्वपूर्ण अवसर गुमाउँछौँ, अर्थात् विज्ञान बिस्तारै सावधानीपूर्वक आफ्नो सामथ्र्य र सीमासँग सचेत भएर अगाडि बढ्छ भन्ने कुरा बुझ्ने अवसर गुम्छ । असाधारण निष्कर्षका लागि सशक्त प्रमाण आवश्यक पर्छ । हामी छिट्टै पृथ्वीबाहिर जीवनको स्पष्ट प्रमाण फेला पार्नेमा आशावादी छौँ । अहिलेसम्म त्यो दिन आएको छैन । तर, हामीले अहिलेसम्म प्राप्त गरेको प्रगति र हरेक नयाँ ज्ञानले हामीलाई त्यो अन्तिम उत्तरनजिक पुर्‍याइरहेको छ ।

(क्याब्रोल फ्रान्सेली अन्तरिक्ष जीववैज्ञानिक एवं सेटी इन्स्टिच्युटको कार्ल सागन सेन्टरकी निर्देशक हुन्) 
द गार्डियनबाट