
सिन्धुपाल्चोकमा एक्स्काभेटर प्रयोग गरेर ढुंगा झिक्ने क्रममा पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ। नवलपरासी जिल्ला घर भएका अन्दाजी २५ वर्षका रमेश दराईको मृत्यु भएको हो।
पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क गाउँस्थित बेलबहादुर श्रेष्ठको पाखोबारीमा ढुंगा झिकिरहेको अवस्थामा दुई सय मिटरमाथिबाट एक्कासी पहिरो आउँदा एक्स्काभेटर पुरिएको थियो। मेलम्ची नगरपालिका–८ केउरिनी निवासी १७ वर्षीय सहचालक उमेश गिरीले भागेर ज्यान बचाएका छन्।
बिहान १० बजे पहिरोले पुरेको एक्स्काभेटरलाई दिउँसो ४ बजे जेसीबीको सहायताले निकालिएको थियो। प्रहरी चौकी तिपेनीका प्रहरी सहायक निरीक्षक गणेश थापाले दिएको जानकारीअनुसार एक्स्काभेटरले विद्यालयका लागि ढुंगा झिक्दै थियो। जेसीबीले ढुंगा पन्छाएर एक्स्काभेटर निकाल्दा चालकसिटमै दराईलाई मृत अवस्थामा फेला पारेको उनले बताए। एक्स्काभेटर पनि काम नलाग्ने गरी क्षतिग्रस्त बनेको छ।
यता चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० काँडेमा ६० वर्षीय नुर्बु तामाङलाई गाउँकै एक युवाले खुर्पा प्रहार गरी घाइते बनाएका छन्। उनको गर्धनमा गहिरो चोट लागेको छ। अवस्था गम्भीर भएकाले उपचारका लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।
मानसिक सन्तुलन बिग्रिएको सोही गाउँका ३० वर्षीय सोमबहादुर तामाङले खेत जोतिरहेका नुर्बुलाई खुर्पाले प्रहार गरेका थिए। घटनालगत्तै भागेका दोषीलाई वडा नं. १३ बोक्सेबाट प्रहरीले नियन्त्रणमा लिएको हो।