
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ सहसचिवको सरुवा गरेको छ । सरुवामा विराटनगर महानगरपालिकामा नयाँ प्रशासकीय अधिकृत पठाइएको छ । तर, काठमाडौं महानगरपालिकाको मागअनुसार भने प्रशासकीय अधिकृतको सरुवा गरिएको छैन ।
मन्त्रालयले विराटनगरको प्रशासकीय अधिकृतमा सहसचिव रामचरित्र मेहतालाई पठाएको छ ।
काठमाडौं महानगरपालिकाले पनि नयाँ प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको थियो । यसपटकको सरुवामा पनि मन्त्रालयले कसैलाई पठाएको छैन ।
काठमाडौं महानगरमा कार्यरत प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि मेयर बालेन्द्र(बालेन) शाहले भ्रष्टाचारको आरोप लगाउँदै उनको सरुवा माग गरेका हुन्। करिब तीन महिना काम नगरेका गुरागाई दुई साताअघिदेखि महानगरमा फर्किएका छन् । तर, मेयरसँग उनको भेटघाट हुने गरेको छैन । बालेनले नयाँ प्रशासकीय अधिकृत पठाउन बारम्बार पत्राचार गर्दै आएपनि संघीय सरकारले मानेको छैन। मेयर र प्रशासकीय अधिकृतको द्वन्द्वका कारण महानगरका धेरै काम रोकिएको कर्मचारीहरू बताउँछन्।