
नेपाल रेडक्रस सोसाइटी दाङका पूर्वसभापति नारायण आचार्य गोली लागेको अवस्थामा मृत भेटिएका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–७, मोतीपुरनिवासी ८३ वर्षीय आचार्य सोमबार दिउँसो गोली लागेको अवस्थामा मृत भेटिएका हुन्।
आचार्यको शव आफ्नै घरको सुत्ने कोठामा छातीमा १२ बोरको दुईनाले बन्दुकबाट गोली लागेको अवस्थामा फेला परेको हो। परिवारका सदस्यले गोली लागेको अवस्थामा देखेपछि अपराह्न ४ बजे प्रहरीलाई खबर गरेका थिए।
आचार्य आफैँले गोली हानेको हुन सक्ने अनुमान गरेपनि थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ। साथै, बन्दुकको वैधताको विषयमा पनि अनुसन्धान चलिरहेको बताइएको छ।