
देशभरिका ३३ नगर अस्पतालमध्ये उदयपुरको कटारी अस्पताल पहिलो भएको छ । न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रमअन्तर्गत संघीय सरकार र प्रदेश सरकारको संयुक्त अनुगमन टोलीको मापन विधिमा कटारी अस्पताल सय नम्बरमध्ये ८८ नम्बर प्राप्त गरी पहिलो भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहले कटारी अस्पताल ग्रिनजोनमा पर्नु भनेको न्यूनतम सेवा मापदण्डको विधिमा गुणस्तरीय सेवा दिन अब्बल रहेको पुष्टि गरेको बताए । ‘अस्पताल र अस्पतालले दिने सेवा उत्कृष्ट भएको ठहर हुन्छ,’ उनले भने । मापदण्डअनुसार ८५ देखि १०० को बिचमा नम्बर प्राप्त गर्ने ग्रिन (हरियो) उत्कृष्ट मानिन्छन् । ७० देखि ८४ बिचमा नम्बर पाउने बुल (नीलो) सन्तोषजक, ५० देखि ६९ नम्बर पाउने एल्लो (पहेँलो) सुधार आवश्यक र ५० भन्दा कम नम्बर पाउने अस्पताल ह्वाइट (सेतो) कमजोर अर्थात् सुधार गर्न विशेष आवश्यक मानिन्छन् ।
साहका अनुसार यही मापदण्डमा रहेको कटारी अस्पताल ८८ नम्बर प्राप्त गरी पहिलो भएको छ । महोत्तरीको बर्र्दीवास नगर अस्पताल ८१ नम्बर प्राप्त गरी दोस्रो भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले ६–६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रमअन्तर्गत मापन गर्ने गर्दछ । कटारी अस्पतालमा चिकित्सकसहितको सरकारी स्वीकृत दरबन्दी २८ भए पनि हाल विभिन्न प्रकारका करारसमेत गरी ५७ जना कार्यरत छन् । कटारी अस्पतालले दैनिक तीन सय बिरामीलाई सेवा दिँदै आएको छ ।