
कालीकोटको पलाँता गाउँपालिका– ९ थिर्पुबाट छलाँहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित चारजनाको ज्यान गएको छ। पलाँता गाउँपालिका– २ स्थित राडुनेटा लार्फ भन्ने स्थानमा आइतबार राति करिब ११:३० बजे दुर्घटना भएको हो। खाद्यान्न, खुद्रा सामान बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खस्दा घटनास्थलमै चारैजनाको मृत्यु भएको स्थानीयले बताएका छन्।
दुर्घटनामा परी ज्यान गुमाउनेमा पलाँता– ४ का ३२ वर्षीय अम्मा शाही, ३८ वर्षीय सदु बुढा, २३ वर्षीय रवीन्द्र विश्वकर्मा र मुगुको खत्याड गाउँपालिका– ५ का ट्याक्टरचालक चन्द्रप्रकाश रोकाया रहेका छन्।
ट्याक्टरको स्वामित्व जग्गी रोकायाको रहेको बताइएको छ। दुर्घटनापछि कहर्देव अस्थायी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली वरिष्ठ हवल्दार गगन रावतको नेतृत्वमा घटनास्थल पुगेको थियो।
स्थानीयवासीका अनुसार दुर्घटना निकै भयावह थियो। ‘ट्याक्टर ठुला चट्टानमाथिबाट पल्टिँदै तल झरेको देख्यौँ, बाँच्ने सम्भावना नै थिएन,’ एक प्रत्यक्षदर्शीले भने। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएकाे छ ।