१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
सिंहदरबारस्थित राप्रपा संसदीय दलको कार्यालयपरिसरमा आइतबार प्रदर्शन गरेपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई नियन्त्रणमा लिँदै प्रहरी । पक्राउ परेका उनीसहितका नेता चार घण्टापछि रिहा भए । तस्बिर : नयाँ पत्रिका
शुरोजंग पाण्डे काठमाडाैं
२o८२ बैशाख ८ सोमबार o६:१९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राप्रपा आन्दोलनको रणनीति : सडक होइन सिंहदरबार, टकराव होइन सन्देश

नेता–कार्यकर्ता सबै रिहाइ नभएसम्म निरन्तर आन्दोलन गर्ने पार्टी अध्यक्ष लिङ्देनको भनाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार o६:१९:oo

१५ चैतको हिंसात्मक प्रदर्शनबाट व्यापक आलोचना खेपेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले यसपटक पूर्वनिर्धारित कार्यक्रम सफल भएको सन्देश दिने गरी सिंहदरबारस्थित संसदीय दलको कार्यालयपरिसरमा सांकेतिक प्रदर्शन गरेका छन् । आइतबार कार्यकर्तालाई माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा प्रदर्शन गर्न लगाएका नेताहरूले निषेधित क्षेत्र तोडेको सन्देश दिन विकल्पस्वरूप सिंहदरबारमा प्रदर्शन गरेका हुन् । 

सडकमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी आएपछि राप्रपाले यसपटक टकरावमा जाने नीति लिएन । बरु, सिंहदरबारमा प्रदर्शन गरेर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले पक्राउ दिए । यद्यपि, चार घण्टापछि उनीहरू रिहा भए । राप्रपाले १५ चैतमा पक्राउ परेका नेताहरू वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमेशर राणासहितको रिहाइ माग गर्दै निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रमअनुसार प्रदर्शन गरेको हो । सडकमा भने राप्रपाका नेता–कार्यकर्ताले निषेधाज्ञा तोडेनन्, जसले गर्दा तनावको अवस्था आएन । सिंहदरबारभित्रै प्रदर्शन गर्ने योजनाबारे सडकमा उत्रेका पार्टी कार्यकर्ता बेखबर देखिन्थे । 

दिउँसो १ बजे दलको कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष लिङ्देन र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गर्ने प्रयास गरेका थिए । त्यसलगत्तै, उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । संसदीय दलको कार्यालय, सिंहदरबार परिसरबाट अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता शाही पक्राउ परेका थिए । त्यस्तै, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए । 

गत ४ चैतमा बसेको राप्रपाको बैठकले निषेक्षित क्षेत्र तोडेरै आइबार प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसक्रममा बानेश्वर क्षेत्रको  निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने सुरक्षा निकायको बुझाइ थियो । त्यहीअनुसार ठुलो संख्यामा बानेश्वर क्षेत्रमा प्रहरी तैनाथ गरियो । तर, राप्रपाका नेताहरूको योजना भने सिंहदरबारभित्रै प्रदर्शन गर्ने थियो । ‘सिंहदरबारभित्रबाटै राजसंस्थाको पक्षमा आन्दोलन गरेर गिरफ्तारी दिने उहाँहरूको योजना रहेछ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘तर, हामीले तत्कालै नियन्त्रणमा लियौँ ।’ 

उता, पूर्वघोषित बानेश्वर क्षेत्रमा निषेधाज्ञा तोड्ने राप्रपा कार्यकर्ताको प्रयास सफल भएन । प्रदर्शनस्थलमा आन्दोलनकारीको संख्यात्मक उपस्थिति प्रभावकारी नदेखिएपछि निषेधाज्ञा तोड्ने प्रयासलाई प्रहरीले बल प्रयोगविनै सहजै असफल पारेको थियो । सिंहदरबारमा पक्राउ नपरेका सांसद दीपक सिंहले बिजुलीबजार क्षेत्रमा केहीबेर प्रदर्शनको नेतृत्व लिने प्रयास गरेका थिए ।

सानो संख्यामा रहेका प्रदर्शनकारीले एकत्रित भएर निषेधाज्ञा तोड्ने सामान्य प्रयास गरेका थिए । तर, अध्यक्ष सिंहदरबारभित्रै पक्राउ परेको खबर बाहिरिएपछि लिङ्देनको पर्खाइमा रहेका नेता–कार्यकर्ता क्रमश ः तितरबितर भएका थिए । तीनकुनेकै जस्तो हिंसात्मक घटना दोहोरिन सक्ने आशंकामा त्यस क्षेत्रका पसल पूर्ण रूपमा बन्द थिए । सुरक्षा व्यवस्था पनि कडा थियो । 

लिङ्देनसहितका नेताहरू पक्राउ परेको चार घण्टापछि काठमाडौं प्रहरी परिसरको हिरासतबाट रिहा भएका छन् । रिहापछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्ना नेता–कार्यकर्ता सबैको रिहाइ नभएसम्म निरन्तर आन्दोलन गर्ने प्रतिक्रिया दिएका थिए । तर, यसबाहेक अन्य आन्दोलनका कार्यक्रम भने राप्रपाले घोषणा गरेको छैन ।  
महामन्त्री विक्रम पाण्डेले आन्दोलनलाई निरन्तर रूपमै अगाडि बढाउने सोचमा पार्टी रहेको बताए । ‘हामीले सांकेतिक कार्यक्रम मात्र गर्ने योजनाअनुसार पार्टीपंक्ति र सबैलाई सहभागिताका लागि आह्वान गरेर योजना बनाएनौँ । तर, पनि कल्पना गरेभन्दा धेरै ठुलो उपस्थितिमै कार्यक्रम सम्पन्न भयो,’ पाण्डेले नयाँ पत्रिकासँग भने, ‘हामी जनभावना कदर गर्दै अहिलेको आन्दोलन निरन्तर अगाडि बढाउने योजनामा छौँ ।’ 

लिङ्देनको पक्राउपछि आइतबारै बसको केन्द्रीय समितिको आकस्मिक बैठकले सरकारमा विपक्षी आवाज निस्तेज पार्ने निरंकुश चरित्र देखिएको निष्कर्ष निकालेको छ । सिंहदरबार परिसरभित्रैबाट अध्यक्ष लिङ्देनसहितलाई गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको राप्रपाको ठहर छ । ‘सरकारको यसप्रकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रस्ट छ । अध्यक्ष र नेताहरू पक्राउको राप्रपा घोर निन्दा र भत्र्सना गर्दछ । यसको सर्वत्र विरोध गरिनुपर्छ,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा छ । 

उनले संविधानप्रदत्त अधिकार उल्लंघन हुँदै गए सशक्त प्रतिवाद गर्ने पनि चेतावनी दिएका छन् । त्यस्तै, बैठकले १५ चैतमा भएको तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री डा. राणालगायत सबै नेता, कार्यकर्ताहरूको रिहाइको राप्रपा माग पनि गरेको छ ।  

२४ दिनपछि हाजिरी जमानीमा छुटे राप्रपा महामन्त्री धवलशमशेर
राजावादी प्रदर्शन हिंसात्मक बनाउन उकासेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा २४ दिन हिरासतमा बसेपछि छुटेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार बेलुका उनलाई हाजिरी जमानीमा छाडेको छ । 

स्वास्थ्यका कारण उनलाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । ‘पहिला क्यान्सरको अप्रेसन भएको ठाउँमा उहाँको मासु पलाएको रहेछ,’ उनले भने, ‘त्यसको उपचार आवश्यक भएकाले हाजिरी जमानीमा छाडेका हौँ ।’ 

स्वास्थ्यको कारण देखाउँदै राणाको परिवारले जमानीमा छाडिदिनका लागि निवेदन दिएको थियो । स्वास्थ्य रिपोर्टसहित सरकारी वकिल कार्यालयबाट सहमति लिएर उनलाई छाडिएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा उनको बयान लिइसकेको छ । हाल छुटे पनि उनीविरुद्ध मुद्दा भने चल्ने प्रहरी अधिकारी बताउँछन् । मुद्दा दायर हुने समयमा उपस्थित गराउने सर्तमा श्रीमतीको जिम्मा लगाएर छाडिएको प्रहरी स्रोत बताउँछ । 

गत १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा उनी सोही दिन बेलुका पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने प्रहरी हिरासतमै छन् । उनीहरूविरुद्ध संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । सो आन्दोलनका नाइके दुर्गा प्रसाईंसहित ८० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ । संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।