१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
Invalid date format o९:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिहार भ्रमणमा आउँदै भारतीय प्रधानमन्त्री मोदी

जयनगरमा बस्यो उच्चस्तरीय सीमा सुरक्षा अधिकारीको समन्वय बैठक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format o९:५२:oo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी १२ वैशाखमा नेपालसँग सीमा जोडिएको बिहारको मधुवनी जिल्लाको भ्रमणमा आउने भएका छन् । मोदीको भ्रमणलाई लिएर शनिबार भारतको जयनगरस्थित नेपाल र भारतका सुरक्षा अधिकारीबिच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक बसेको छ । बैठकमा धनुषा, महोत्तरी, सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारी, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधिहरू सहभागी थिए ।

नेपाली अधिकारीका अनुसार भारतीय प्रधानमन्त्रीको आगमनले सीमावर्ती क्षेत्रलाई संवेदनशील बनाउने भएकाले दुवै देशका सुरक्षा संयन्त्रबिच पूर्वतयारी, समन्वय र जानकारी आदान–प्रदानलाई अझ मजबुत बनाउने सहमति भएको हो । भारतीय पक्षले मोदीको भ्रमण शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित बनाउने प्राथमिकतासहित सीमाबाट हुने गैरकानुनी आवत–जावत, आपराधिक गतिविधि र अवाञ्छित तत्वहरूको निगरानी तीव्र गर्न आग्रह गरेका थिए ।

बैठकमा सीमावर्ती क्षेत्रमा सुरक्षा गस्ती बढाउने, विशेष गरी सशस्त्र प्रहरी र सीमा सुरक्षा बलको संयुक्त गस्ती व्यवस्था सुदृढ गर्ने, सीमानाका र भन्सार क्षेत्रमा सवारीसाधन तथा व्यक्तिको निगरानी प्रणाली कडा बनाउने, गैरकानुनी हतियार, लागुपदार्थ तथा मानव तस्करी नियन्त्रणमा संयुक्त अपरेसन तथा सूचना आदान–प्रदान गर्ने, भ्रमण अवधिभर सीमामा विशेष सतर्कता अपनाउने, शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको निगरानी गर्ने, स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीबिच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक तथा जानकारी आदान–प्रदान गर्ने सहमति भएको छ । 

त्यसैगरी, सीमावर्ती क्षेत्रमा सामान्य नागरिकलाई सहज रूपमा आवागमन गर्न दिने, तर सुरक्षा मापदण्ड पालना गराउन प्रस्ट निर्देशन दिने र सम्भावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ‘र्‍यापिड रेस्पोन्स टिम’ तयार राख्नेलगायतका सात बुँदामा सहमति भएको नेपाली अधिकारीले जनाएका छन् ।

बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भारतको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भएको यो बैठकले दुवै देशबिचको सुरक्षा विश्वास बढाएको बताए । जयनगर–जनकपुर–मधुवनी सडकसहितका सीमावर्ती क्षेत्रमा गस्ती, चेकप्वाइन्ट तथा निगरानी गर्न सिसिक्यामरा थप्ने काम भइरहेको उनले बताए ।